नष्ट भएका मालपोत कार्यालयका अभिलेख पुनः कायम गर्न विभागद्वारा परिपत्र जारी

जग्गाधनीका प्रमाणपत्र, अभिलेख मिलान र सार्वजनिक सूचनासम्मका बहुचरणीय प्रक्रिया अपनाउँदै भूमि व्यवस्थापन तथा अभिलेख विभागले नष्ट अभिलेखलाई पुनर्स्थापना गर्न निर्देशन दिएको छ ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Circular issued by the department to restore the destroyed records of the shipping office

What you should know

काठमाडौँ — गत भदौ २३ र २४ मा नेपालभरि भएको जेन–जी आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा मुलुकका १० वटा मालपोत कार्यालयहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । यी कार्यालयहरूमा जग्गाधनी दर्ता स्रेस्ता र रोक्का अभिलेखहरू नष्ट भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । प्रभावित कार्यालयहरूमा भूमि र जग्गासम्बन्धी महत्त्वपूर्ण अभिलेखहरू पुनः स्थापित गर्ने कार्य सुरु गरिएको छ ।

विभागले १० वटा मालपोत कार्यालयमा नष्ट भएका अभिलेखहरूको पुनः संकलन र अद्यावधिक गर्नका लागि विशेष प्रक्रिया तय गरेको छ । ती कार्यालयहरूमा जम्मा भएका अभिलेखहरू अपडेट गरी पुनः प्रमाणित दर्ता स्रेस्ता जारी गरिनेछ । विभागले नयाँ स्रेस्ता तयार गर्न कार्यालयहरूलाई विभिन्न प्रक्रिया अपनाउन निर्देशन दिएको छ ।

नष्ट भएका दर्ता स्रेस्ता तयार गर्न प्रक्रिया:

क. जग्गाधनीसँग भएको सक्कल जग्गाधनी दर्ता प्रमाण पुर्जा र भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) मा भएको अभिलेख भिडेमा प्रणालीबाट त्यस्तो जग्गाको स्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ स्रेस्ता कायम गर्ने । 

ख. बुँदा (क) बमोजिम अभिलेख फरक पर्न गएमा डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डीएमएस) मा भएको अभिलेखसँग भिडान गर्ने र अभिलेख भिडेको अवस्थामा एलआरआईएमएस मा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको स्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ स्रेस्ता कायम गर्ने । 

ग. बुँदा (क) र (ख) मा समेत विवरण नभिडेमा तामेलीमा रहेको अभिलेख भिडेको अवस्थामा एलआरआईएमएस मा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको स्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ स्रेस्ता कायम गर्ने । 

घ. बुँदा (क), (ख) र (ग) मा समेत विवरण नभिडेमा जिल्ला भू-सूचना प्रणाली को अभिलेख, नापी कार्यालयमा रहेको फिल्डबुक तथा प्लटरजिष्टर, नक्सा, स्थानीय तहमा रहेको मालपोत लगत र मालपोत वा सम्पत्ति कर बुझाएको रसिदलाई आधार मानि एलआरआईएमएस मा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको स्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ स्रेस्ता कायम गर्ने । 

ङ. बुँदा (क) देखि (घ) सम्मको व्यवस्था बमोजिम अभिलेख नभिडेमा वा जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि वा पारित लिखतको सक्कल प्रति पेश हुन आएमा वा बैंक तथा वित्तीय संस्था, अड्डा अदालत वा अन्य निकायमा पेश गरेको कागजात सम्बन्धित निकायबाट प्रमाणित प्रतिलिपि पेश भएमा स्थानीय तहबाट हक भोगको सिफारिस लिई सोको आधारमा एलआरआईएमएस मा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको स्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ स्रेस्ता कायम गर्ने । 

च. बुँदा (क) देखि (ङ) बमोजिम स्रेस्ता कायम गर्न प्रमाण पेश हुन नआएमा सार्वजनिक सूचना, हकभोगसम्बन्धी स्थलगत सर्जमिन र जानी जानी झुट्टा विवरण पेश गरेमा झुट्टा विवरण पेश गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारवाही सहुँला बुझाउँला भनि सम्बन्धित जग्गाधनीको कबुलियतनामा कागज गराई सोको आधारमा एलआरआईएमएस मा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको स्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ स्रेस्ता कायम गर्ने । 

छ. जग्गाधनी दर्ता प्रमाण पुर्जा पेश नभएमा वा पेश भएको प्रमाणबाट एकिन हुन नसकिएमा आवश्यकता अनुसार हकभोगसम्बन्धी स्थानीय तहको सिफारिस, स्थलगत सर्जमिन र सार्वजनिक सूचना गर्न सकिने छ । 

ज. नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता कायम गर्दा नापी कार्यालयको फिल्डबुक, प्लट रजिष्टर, नक्सा, मालपोत कार्यालयको तामेली अभिलेख, व्यक्तिसँग भएको सक्कल पारित लिखत र एलआरआईएमएस प्रणालीको रेकर्डबाट सरकारी सार्वजनिक तथा दर्ता बाँकी जग्गा हो होइन एकिन गर्नुपर्नेछ । 

झ. नष्ट भएका जग्गाको जग्गाधनी दर्ता स्रेस्ता कायम गर्दा निवेदकलाई सो जग्गा सरकारी सार्वजनिक नभएको, कुनै पनि व्यहोराबाट हक हस्तानन्तरण नगरेको, रोक्का रहे/नरहेको खुलाई निजकै हकभोग भित्रको दर्ता भएको जग्गा हो भन्ने व्यहोराको कबुलियतनामा कागज गराई राख्नुपर्नेछ। 

ञ. नष्ट भएका जग्गाको जग्गाधनी दर्ता स्रेस्ता कायम गर्दा कार्यालयले निर्णय गरी पुर्जा र स्रेस्तामा कैफियत जनाई प्रमाणित गरी एलआरआईएमएस मा अपलोड गर्नुपर्नेछ । 

नष्ट भएको रोक्का लगत अद्यावधिक प्रक्रिया:

क. एलआरआईएमएस प्रणालीमा भएको रोक्का रेकर्डलाई साविक गा.वि.स. अनुसार प्रिन्ट गरी रोक्का किताब तयार गर्ने र डीएमएस मा रहेको अभिलेख भिडाई अद्यावधिक गर्ने । 

ख. रोक्का राख्ने संवैधानिक निकाय, बैंक तथा वित्तीय संस्था, प्रशासनिक निकाय तथा न्यायिक निकायहरुलाई रोक्का राखिएको अचल सम्पतिको विवरण उपलब्ध गराई दिन पत्राचार गर्ने र प्राप्त विवरणलाइ भिडाई अभिलेख अद्यावधिक गर्ने । 

ग. कार्यालयको कुनै पनि अभिलेखबाट रोक्का रहेको विवरण खुल्न आएमा सोलाई समेत आधार लिई अभिलेख अद्यावधिक गर्ने । 

घ. रावल आयोगको प्रतिवेदनमा उल्लेख भएको कित्ताका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट अभिलेख माग गरी रोक्का विवरण अद्यावधिक गर्ने। 

ङ. भूमि सम्बन्धी ऐन नियम बमोजिम ( हदबन्दी र अनिवार्य वचत आदी) रोक्का राखिएका जग्गाको अभिलेख भूमिसुधार तथा मालपोत कार्यालयबाट माग गरी अद्यावधिक गर्ने । 

च. अन्य कुनै माध्यम मार्फत् रोक्का रहेको जानकारी प्राप्त हुन आएमा सोको एकिन गरी अभिलेख अद्यावधिक गर्ने। 

विभागले नष्ट भएको स्रेस्ता अद्यावधिक भएपछि उक्त स्रेस्ताबाट कारोबार गर्दा ऋणी धनी दुवैलाई जानकारी दिएर लिखत पारित गर्ने व्यवस्था मिलाउनुपर्ने समेत मालपोत कार्यालयहरुलाई भनेको छ ।

विभागले जग्गादर्ता वा मोही बाँडफाँडको लागि परेका निवेदन वा निर्णय भई स्रेस्ता कायम गर्न बाँकी भएका जग्गाको हकमा मिसिल दर्ता डायरी, राय किताव र व्यक्तिसँग रहेको प्रमाणित प्रतिलिपिलाई आधार मानि मिसिल खडा गर्न सकिने जनाएको छ । उल्लिखित  बमोजिमको विवरण समेत नभएमा जग्गा दर्ता वा मोही बाँडफाँडको लागि नेपाल राजपत्रमा तोकिएको समय सीमाभित्र पुनः निवेदन गर्नका लागि सार्वजनिक सूचना गर्ने विभागले जनाएको छ ।

कान्तिपुर

Link copied successfully