ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत्‌का ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म

यहि असोज १७ देखि १९ गतेसम्म आएको अति भारी वर्षाका कारण सञ्चालनमा रहेका २० वटा जलविद्युत् आयोजना प्रभावित भएकोमा १३५ मेगावाटका १७ वटा जलविद्युत् आयोजनाको उत्पादन पूर्णरुपमा बन्द भएको छ भने १५६ मेगावाटका ३ वटा आयोजना आंशिक प्रभावित भएका छन् ।

आश्विन २३, २०८२

सीमा तामाङ

7 demands from flood-affected hydropower plants before Energy Minister Ghising, from customs exemption to RCOD increase

What you should know

काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत् आयोजनाहरुलाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ । बुधवार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजना पुर्ननिर्माणको लागि सरकारले राहत प्याकेज नै घोषणा गर्नुपर्ने बताए ।

२०८० जेठ ३२ र असार १, २०८१ असार/साउन तथा असोज ११/१२ र २०८२ को असार/साउन र हालैको बाढीबाट क्षतिग्रस्त आयोजनाहरू सबैलाई मध्यनजर गरी विद्युत् उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी), अनुमतिपत्रको अवधि, कर्जा पुनर्तालिकीकरण, लङ–टर्म फाइनान्सिङ र भन्सार महसुलमा छुटलगायतका विषय समेटेर राहत प्याकेज ल्याउनुपर्ने पनि अध्यक्ष कार्कीले बताए ।

भेटमा ऊर्जामन्त्री कुलमान घिसिङले बाढी–प्रभावित आयोजनालाई सक्दो राहत उपलब्ध गराउन पहल गर्ने बताए । उनले वनसँग सम्बन्धित ऊर्जा आयोजनाका समस्याहरू समाधानका लागि आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्ने पनि जानकारी गराएका थिए ।

यही असोज १७ देखि १९ गतेसम्म आएको अति भारी वर्षाका कारण सञ्चालनमा रहेका २० वटा जलविद्युत् आयोजना प्रभावित भएकोमा १३५ मेगावाटका १७ वटा जलविद्युत् आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने १५६ मेगावाटका ३ वटा आयोजना आंशिक रूपमा प्रभावित भएका छन् । त्यसैगरी निर्माणाधीन ५२० मेगावाट क्षमताका १७ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

यस्ता छन् इप्पानले ऊर्जामन्त्रीसामु राखेका मागहरु

१) बाढी प्रभावित आयोजनाको पुनःनिर्माण तथा मर्मत सम्भारको लागि आवशयक मेसिनरी उपकरणहरु १ प्रतिशत भन्सार शुल्कमा आयातको व्यवस्था गर्नुपर्ने ।

२) बाढी बाट क्षति पुगेका निर्माणाधीन आयोजनाको आरसीओडी म्याद ३ वर्ष र अनुमतिपत्रको अवधि ५ वर्ष थप गर्नुपर्ने ।

३) बाढी प्रभावित आयोजनाको कर्जा पुर्नतालिकीकरण र पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने ।

४) बाढी प्रभावित आयोजनाको रोकिएको आइपीओ र हकप्रद शेयर छिटो निष्कासनको व्यवस्था गर्नुपर्ने ।

५) प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरुलाई संकटग्रस्त घोषणा गरी आवश्यक नीतिगत निर्णय गर्नुपर्ने ।

६) बाढी प्रभावित आयोजनालाई लङटम फाइनान्सिङको व्यवस्था गर्नुपर्ने ।

७) आर्थिक वर्ष २०८२/८३ – २०८४/८५ भित्र विद्युत् उत्पादन नगरे स्वतहः टेक एण्ड पे पीपीएमा परिणत हुने व्यवस्था खारेज हुनुपर्ने ।

सीमा तामाङ तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully