मंगलबार कारोबारमा आएका सबै उपसमूह घटे । विकास बैंक, निर्जीवन बिमा, जीवन बिमा, अन्य, होटल तथा पर्यटन, बैंकिङ, लघुवित्तलगायत सबै उपसमूह घटेका हुन् । जीवन बिमा २३७.३१, निर्जीवन बिमा २२९.१९, उत्पादन तथा प्रशोधन १३६.८७, विकास बैंक १३६.७५, जलविद्युत् उपसमूह ९५.४८ अंकले घटेका छन् ।
What you should know
काठमाडौँ — दसैंपछि खुलेको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ५८.५५ अंकले घटेको छ । नेप्से दुई दशमलव १९ प्रतिशतले घटेर २६ सय ४ दशमलव ९६ बिन्दुमा बन्द भएको छ ।
दसैंको बिदापश्चात् आइतबारबाट सेयर बजार खुल्ने तय थियो । सरकारले अविरल वर्षाका कारण निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै आइतबार र सोमबार सार्वजनिक बिदा दिएका कारण मंगलबारबाट सेयर बजार खुलेको हो । त्यसो त दसैंअघिका कारोबारमा पनि नेप्से बढ्न सकेको थिएन । अधिकांश कारोबार दिनमा घटेको थियो ।
अस्थिर राजनीतिका कारण लगानीकर्ताको ‘कन्फिडेन्स’ बढ्न नसक्दा बजार घटेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले बताए । ‘मुलुकमा राजनीति अस्थिर छ, अब के हुन्छ भन्ने नै छ, मुख्य त अस्थिर राजनीतिका कारण नै बजार बढ्न नसकेको हो,’ उनले भने । पछिल्लो समय नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको पनि राजीनामा माग भएकाले पनि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ ।
‘बजार बुझेका गभर्नरको राजीनामा माग भइरहेको छ, उहाँले राजीनामा दिनुभयो भने भोलि कस्तो पदाधिकारी आउँछन् भन्ने हो,’ उनले भने, ‘लगानीकर्ताहरूको कन्फिडेन्स बढ्न सकेको छैन ।’ मंगलबार सेयर बजार घटे पनि बुधबार बढ्न सक्ने उनको अनुमान छ ।
मंगलबार कारोबारमा आएका सबै उपसमूह घटे । विकास बैंक, निर्जीवन बिमा, जीवन बिमा, अन्य, होटल तथा पर्यटन, बैंकिङ, लघुवित्तलगायत सबै उपसमूह घटेका हुन् । जीवन बिमा २३७.३१, निर्जीवन बिमा २२९.१९, उत्पादन तथा प्रशोधन १३६.८७, विकास बैंक १३६.७५, जलविद्युत् उपसमूह ९५.४८ अंकले घटेका छन् ।
कारोबारमा आएकामध्ये १६ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । २३५ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो । कुल ५५ हजार ४५० पटकको सेयर कारोबारबाट ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ ।
सेन्चुरी डिबेन्चर २०८८ को सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । एनआईसी एसिया ऋणपत्र २०८८ को ९.११, स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरको ९.०६, सिक्लेस हाइड्रोपावरको ७.७२ र थ्रीस्टार हाइड्रोपावर लिमिटेडको ६.६० प्रतिशतले सेयर मूल्य बढ्यो ।
भूगोल इनर्जी डेभलपमेन्टका ९.९९, नेपाल रिइन्स्योरेन्स कम्पनीको ८.५७, ग्लोबल आईएमई सम्मुनत योजना–२ को ७.३५, माथिल्लो मैलुङ खोला जलविद्युत्को ७.२१ र पञ्चकन्या माई हाइड्रोपावरको ६.८७ प्रतिशतले सेयर मूल्य घट्यो ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट अघि रहे । युनियन हाइड्रोपावरको २८ करोड ३१ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको १९ करोड ४५ लाख, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ६१ लाख, शिवम् सिमेन्टको १२ करोड २३ लाख र सिनर्जी पावर डेभलपमेन्टको ११ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
