आपूर्ति सहज भएसँगै घट्न थाल्यो तरकारीको भाउ

दसैंपछि राजमार्ग खुलेसँगै आपूर्ति बढ्दा गोलभेँडालगायत धेरै तरकारीको होलसेल मूल्य उल्लेख्यरूपमा घटेको समितिले जनाएको छ ।

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

As the supply became easier, the price of vegetables started to decrease

What you should know

काठमाडौँ — पहिरोले राजमार्ग अवरुद्ध भएसँगै आकासिएको हरियो तरकारीको भाउ घट्न थालेको छ । आपूर्तिमा सहजतासँगै भाउ घट्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिको तथ्याङ्क अनुसार एक साताको तुलनामा अधिकांश हरियो तरकारीको होलसेल भाउ घटेको छ । टनेलको गोलभेँडा २५ प्रतिशतले घटेर ३१ रुपैयाँ, भारतीय गोलभेँडाको मूल्य २८ प्रतिशतले घटेर २२ रुपैयाँमा बिक्री भइरहेको छ ।

गोलभेँडासँगै स्थानीय काउली, सेतो मुला, बोडी, घिउ सिमी, भटमास कोसा, तिते करेला, पाकेको फर्सी, रायो साग, पालुङ्गो साग, च्याउलगायत तरकारीको मूल्य घटेको जनाएको छ । ‘दसैँको सार्वजनिक बिदा र त्यसपछि आएको वर्षाले राजमार्ग अवरुद्ध हुँदा आपूर्तिमा केही कमी भएकै थियो । जसका कारण केही वस्तुको भाउ बढेको देखियो । होलसेलमा मूल्य नबढे पनि खुद्रामा धेरै बढेको देखियो,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘राजमार्ग खुलेसँगै आपूर्तिमा सहजता आएको छ । दैनिक ६ सय टनभन्दा बढी तरकारी भित्रिन थालेको छ, जसका कारण होलसेलमा मूल्य घटेको हो ।’

समितिको विवरण अनुसार असोज १६ गते प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने टनेल बोडीको मूल्य घटेर ८५ रुपैयाँ पुगेको छ । प्रतिकिलो ८५ रुपैयाँ पर्ने मकै बोडीको मूल्य घटेर ६५ रुपैयाँ, प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने घिउ सिमीको मूल्य घटेर ९५ रुपैयाँमा बिक्री भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिने तरकारीले उपत्यकाको करिब ७० देखि ७५ प्रतिशत माग धान्छ । बाँकी माग बल्खु, बालाजु, टुकुचा, कोटेश्वर र चाबहिललगायतका तरकारी बजारले धान्दै आएका छन् । समितिका अनुसार प्रतिकिलो ८५ रुपैयाँ पर्ने भटमास कोसाको मूल्य घटेर ७५ रुपैयाँ पुगेको छ । प्रतिकिलो ५५ रुपैयाँ पर्ने तिते करेलाको मूल्य घटेर ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रतिकिलो ७५ रुपैयाँ पर्ने पाकेको फर्सीको मूल्य घटेर ६५ रुपैयाँमा बिक्री भइरहेको समितिको विवरणमा उल्लेख छ । प्रतिकिलो १ सय ३५ रुपैयाँ पर्ने रायो सागको मूल्य घटेर १ सय १५ रुपैयाँ र प्रतिकिलो ३ सय २५ रुपैयाँ पर्ने च्याउको मूल्य घटेर ३ सय ५ रुपैयाँमा बिक्री भइरहेको छ ।

यो होलसेल मूल्य हो । खुद्रा बजारमा आइपुग्दा भने व्यापारीले मनोमानी मूल्यमा बिक्री गर्छन् । तरकारीको मूल्य पसलैपिच्छे फरक पर्छ, तर नियमन गर्ने निकायले त्यता ध्यान दिएको छैन । बजार अनुगमनसमेत भएको छैन ।

उपत्यकामा धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर र तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । भारतबाट पनि केही तरकारी आयात हुने गरेको छ ।

कान्तिपुर

Link copied successfully