सोमबारको तुलनामा मंगलबार सुनको भाउ २ हजार ३ सयले बढेको छ ।
काठमाडौँ — दसैंलगत्तै खुलेको सुन बजारमा नयाँ–नयाँ कीर्तिमान कायम भएको छ । दसैंको बिदा हुनुअघि असोज १२ मा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ तोकेको थियो ।
त्यसपछि दसैंको बिदा भयो । असोज १८ सम्म संघले सुनको मूल्य निर्धारण गरेन । दसैंलगत्तै असोज १९ मा गहना बजार खुल्दा मूल्यले आकाश छोएको छ । सुनको मूल्य एकै दिन ७ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ कायम भयो ।
दोस्रो दिन अर्थात् असोज २० मा पनि सुनको मूल्य बढ्ने क्रम जारी रह्यो । महासंघले आइतबारको तुलनामा सोमबार प्रतितोला २५ सय रुपैयाँ बढाएर २ लाख ३३ हजार १ सय रुपैयाँ मूल्य तोकेको छ ।
मंगलबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ । मंगलबार सुनको भाउ २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ २ हजार ३ सयले बढेको छ । यो मूल्य पनि अहिलेसम्मकै कीर्तिमानी हो ।
