सन् २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्म भारत, अमेरिका, अस्ट्रेलिया, चीन र बेलायतबाट सर्वाधिक आगन्तुक नेपाल आएका पर्यटन बोर्डको तथ्यांक छ।
काठमाडौँ — नेपाल पर्यटन बोर्डले सेप्टेम्बर २०२५ को पर्यटन तथ्यांक सार्वजनिक गर्दै उक्त महिनामा नेपालमा ७८ हजार ७११ जना अन्तर्राष्ट्रिय आगन्तुक आएको जनाएको छ।
यो संख्या सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशतले घटेको हो। यद्यपि, सेप्टेम्बर २०१९ अर्थात् कोभिड–१९ महामारीअघिको आगन्तुक संख्याको तुलनामा ८५ प्रतिशत पुनः उत्थान भएको बोर्डले जानकारी दिएको छ।
सन् २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्मको नौ महिनाको अवधिमा नेपालमा कुल ८ लाख १५ हजार २७३ जना अन्तर्राष्ट्रिय पर्यटक आएका छन्।
अन्तर्राष्ट्रिय आगन्तुकमध्ये सबैभन्दा बढी १५ हजार ५५६ जना (१९.८%) भारतबाट आएका छन्। त्यसपछि अमेरिकाबाट ९ हजार ६७९ जना (१२.३%), अस्ट्रेलियाबाट ६ हजार ८२४ जना (८.७%), चीनबाट ५ हजार २३७ जना (६.७%) र बेलायतबाट ४ हजार ९८१ जना (६.३%) रहेका छन्।
क्षेत्रगत हिसाबले हेर्दा, सबैभन्दा बढी २४ हजार २८५ जना (३०.९%) पर्यटक दक्षिण एसियाली क्षेत्र (सार्क) बाट आएका छन् भने युरोपबाट १६ हजार ५९७ (२१.१%), अन्य एसियाली देशहरूबाट १२ हजार ५९० (१६%), अमेरिका महादेशबाट ११ हजार ५२३ (१४.६%), ओसियानियाबाट ७ हजार ३१४ (९.३%), मध्यपूर्वबाट २ हजार ३२८ (३%), अफ्रिकाबाट ३४४ (०.४%) र अन्य क्षेत्रबाट ३ हजार ७३० (४.१७%) जना पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार पछिल्ला महिनाहरूमा मौसमी वर्षा, विश्वव्यापी आर्थिक उतार–चढाव र केही क्षेत्रीय कारणले आगन्तुक संख्यामा केही कमी देखिए पनि समग्रमा नेपालमा पर्यटन क्षेत्र क्रमशः सुधारतर्फ अघि बढिरहेको छ।
