भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले विपद्का कारण केही भौतिक क्षति भए पनि सरकारको पूर्वतयारीका कारण ठूलो मानवीय क्षति हुन नपाएको जनाए ।
What you should know
काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण अवरुद्ध सडकहरू सक्दो छिटो सञ्चालनमा ल्याउने बताएका छन् । अवरुद्ध सडक तथा राजमार्गका वैकल्पिक सडक खण्ड रहेको र तत्कालका लागि ती सडक प्रयोग गर्न उनको आग्रह छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले विपद्का कारण केही भौतिक क्षति भए पनि सरकारको पूर्वतयारीका कारण ठूलो मानवीय क्षति हुन नपाएको जनाए । पर्याप्त मात्रामा सूचना जारी गर्नुका साथै पूर्वतयारी भएकाले क्षति कम भएको उनको भनाइ छ ।
नदी नजिकको बस्ती बगाउने, डुबाउने वा सडक भत्किएर ठूलो मानवीय क्षति नभएको घिसिङको भनाइ छ । ‘उपत्यकाभित्रकै नदी किनारमा बसेका ३ सयभन्दा बढीलाई शनिबार राति विद्यालयमा राखियो,’ उनले भने, ‘जब कि उहाँहरू निस्कनै मानिरहनुभएको थिएन ।’
वर्षा कम भएसँगै अवरुद्ध सडक सञ्चालन गराउने काम अघि बढिसकेको उनले बताए । यद्यपि नेपालको पूर्वी क्षेत्रमा पानी परिरहेकाले त्यहाँका सडक खण्ड वर्षा घटेपछि मात्र सञ्चालनमा ल्याइने उनले प्रस्ट्याए । ‘सडक पूर्वाधारको आर्थिक क्षति यकिन गर्न बाँकी छ,’ उनले भने, ‘अहिले बाटो खुलाउन लागिरहेका छौं ।’
भौतिक पूर्वाधार मन्त्रालय तथा सडक विभागले पनि यातायात यथाशीघ्र पुनः सञ्चालन गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरेको जनाएको छ । ‘प्रमुख राजमार्गका अवरुद्ध खण्डमा दिनरात मर्मत कार्य तीव्र रूपमा जारी छ । बाँकी सडक पनि शीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हिजोदेखि नै मेसिन र जनशक्ति परिचालन गरी काठमाडौंबाट पश्चिम–मुग्लिन हुँदै पोखरा र नारायणगढतर्फ जाने पृथ्वी राजमार्ग तथा नारायणगढ–मुग्लिन राजमार्गका अवरोध हटाई सवारीसाधन सञ्चालन हुने बनाइसकिएको छ ।’
अवरुद्ध बीपी राजमार्ग (भकुन्डेबेंसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउने गरी अवरोध हटाउने तथा डाइभर्सन बनाउने काम सुरु भइसकेको सडक विभागका महानिर्देशक विजय जैसीले जनाए । पानीको बहाव घटेपछि अधिकतम एक साताभित्र सडक सञ्चालनमा ल्याउने योजना रहेको उनको भनाइ छ । तर मन्त्री घिसिङले त्यसअघि नै सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिए ।
काठमाडौंदेखि पश्चिम मुग्लिन हुँदै पोखरा र नारायणगढ जाने पृथ्वी राजमार्ग तथा नारायणगढ–मुग्लिन सडकमा यातायात सञ्चालनमा अवरोध नरहेको सडक विभागले जनाएको छ । वर्षाका कारण बन्द भएका पश्चिमतर्फका सडक खोलिने र विपद्बाट क्षतिग्रस्त विभिन्न सडकको मर्मत कार्य तीव्र गतिमा गरिने विभागको भनाइ छ ।
शुक्रबारदेखि आइतबारसम्मको लगातार भारी वर्षा तथा जलवायुजन्य घटनाका कारण देशका विभिन्न स्थानमा उत्पन्न भूस्खलन र बाढीले सडक अवरुद्ध भई यातायातमा ठूलो असर पुगेको मन्त्री घिसिङले बताए ।
‘प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति र उपकरण परिचालन गर्दै प्रमुख राजमार्गका अवरुद्ध खण्डमा दिनरात मर्मत कार्यलाई तीव्रता दिइरहेका छौं,’ उनले भने । स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानीय निकायसँग समन्वय गरी मर्मत तथा सडक खोल्ने कार्यलाई तीव्रता दिएको विभागले जनाएको छ ।
आइतबार दिउँसो २ बजेसम्म नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग र त्रिभुवन राजपथ दुईतर्फी सञ्चालनमा ल्याइसकिएको विभागको भनाइ छ । अरनिको राजमार्गअन्तर्गत खावा सडक खण्डमा एकतर्फी सञ्चालन भइरहेको र काम जारी रहेको विभागले जनाएको छ ।
कान्ति लोकपथमा पनि सामान्य पहिरो खसेकाले सफा गर्ने काम भइरहेको छ । मेची राजमार्गअन्तर्गत माईखोला पुल, पुवा खोला बेलिब्रिज र जोगमाई बेलिब्रिज डुबानमा परेको छ । पानी परिरहेकाले सञ्चालनमा ल्याउन केही समय लाग्ने विभागले बताएको छ ।
