बाढीका कारण ३२ जलविद्युत् आयोजना प्रभावित, इलाममा मात्रै १५ आयोजनामा क्षति

सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थाका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन् ।

आश्विन २०, २०८२

दुर्गा दुलाल

Due to floods, 32 hydropower projects were affected, 15 projects were damaged in Ilam alone

What you should know

काठमाडौँ — असोज १७ देखि १९ गतेसम्म आएको भारी वर्षाका कारण तीन प्रदेशका १० जिल्लामा ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन् । विगतका वर्षमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकामा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता भई सोहीअनुसार पूर्वसूचना प्रेषित गरी मानवीय क्षति रोक्न सफल भएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।

सञ्चालनमा रहेका १७ मध्ये इलामका १५ आयोजना बाढीपहिरोका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । इलामका ती आयोजनाको उत्पादन बन्द भएको छ । जसमा ४.५ मेगावाटको माई खोला, ८ मेगावाटको माई खोला क्यासकेड, २२ मेगावाटको माई खोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड छन् । यस्तै ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत आयोजना रहेका छन् ।  बाँकी दुई आयोजनामध्ये कोशी प्रदेशकै पाँचथरमा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना प्रभावित भएका छन् ।

Due to floods, 32 hydropower projects were affected, 15 projects were damaged in Ilam alone

हाल लिखुबाहेक सबै आयोजनाको उत्पादन बन्द छ । लिखु ४ को भने १ घण्टाभन्दा केही बढी समय मात्र उत्पादन बन्द भएको थियो । निर्माणाधीन आयोजनाको धेरै क्षति पहुँचमार्गमा निर्माणाधीन जलविद्युत आयोजनाहरूमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ ।

मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत् आयोजनाले बनाएको १२ किलोमिटर पहुँच सडकको धेरै ठाउँमा पहिरो गएको प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए । यही वर्षदेखि आयोजनाको निर्माण सुरु भएकाले पहुँच सडक सेट नभइसकेको अवस्थामा वर्षाले धेरै ठाउँमा बाटो बगाएको उनको भनाइ छ ।

निर्माणाधीन अवस्थामा रहेका आयोजनामध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवर्द्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजना १० दिनभित्र व्यावसायिक उत्पादनमा जाने तयारीमा थियो । बाढीले क्षति पुर्‍याउँदा यसको विद्युत् उत्पादन मिति पर सरेको छ ।

पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरण नै बगाएको छ । सिन्धुपाल्चोकमा रहेका ४ जलविद्युत् आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ । जसमा ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत् आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ ।

रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला, भोजपुरमा रहेको १५.५ मेगावाटको इर्खुवा खोला बी, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, म्याग्दीमा रहेको २२.५ मेगावाटको माथिल्लो ठूलो खोला, लमजुङमा रहेको ६.८२ मेगावाटको हिडी खोला, रामेछापमा रहेको ४८.८ मेगावाटको खिम्ति २ र धादिङमा रहेको ४.५ मेगावाटको गसाली खोला जलविद्युत आयोजनाको पहुँचमार्ग लगायतका विभिन्न संरचनामा क्षति पुगेका कारण यी आयोजनाको विद्युत् उत्पादन मिति पर सरेको छ ।

सञ्चालनमा रहेका तथा निर्माणाधीन अवस्थाका आयोजनाहरूसम्म पुग्ने पहुँचमार्गहरु अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण आउन भने अझै केही समय लाग्न सक्ने इप्पानले जनाएको छ ।

दुर्गा दुलाल दुर्गा दुलाल कान्तिपरका पत्रकार हुन् । उनी कानून, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully