हिमालयन एभरेस्टद्वारा बीमितलाई झन्डै २२ करोड भुक्तानी

कम्पनीले आन्दोलनमा क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी असोज २१ गते मंगलबारदेखि पुनः सुरु गर्ने जनाएको छ, आवश्यक कागजात लिएर शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

आश्विन २०, २०८२

कान्तिपुर संवाददाता

About 220 crore paid to the insured by Himalayan Everest

काठमाडौँ — गत भदौ २३ गतेको आन्दोलन र २४ गतेको प्रदर्शनका क्रममा क्षति पुगेका सम्पत्तिमध्ये हिमालयन एभरेस्ट इन्स्योरेन्सले हालसम्म २१ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीमा हालसम्म बिमा भई क्षतिपूर्ति दाबी गरिएका २ सय ८७ मध्ये २ सय ४५ वटा दाबीबापत सो रकम भुक्तानी गरिएको जनाइएको छ ।

कम्पनीका अनुसार उक्त रकम आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिको अग्रिम तथा अन्तिम दाबी भुक्तानीका रूपमा रहेको हो । नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको दाबी विभाग प्रमुख रोजराज लुइँटेलले जानकारी दिए ।

उनका अनुसार उच्च प्राथमिकताका साथ भइरहेको दाबी भुक्तानी आगामी असोज २१ गते मंगलबारदेखि पुनः यथावत् रूपमा सञ्चालन हुनेछ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमित ग्राहकलाई शीघ्र आर्थिक राहत दिलाउन दाबी प्रक्रिया तीव्र बनाएको जनाएको छ ।

यस प्रयासले बीमितलाई विपद्‌मा आर्थिक संरक्षण र राहत सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ । साथै, बिमा भई क्षतिपूर्तिको दाबी भुक्तानी बाँकी रहेका बीमितहरूलाई आवश्यक कागजात पूरा गरी आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न पनि कम्पनीले अनुरोध गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully