मेरा पिकमा हराएका कोरियन आरोही र गाइडको खोजीका लागि काठमाडौंबाट हेलिकप्टर उड्यो

उनीहरू हराएका क्षेत्र मेरा हाइक्याम्प र मेरा पिकको चुचुरोभन्दा करिब ३०० मिटर तलको बीच क्षेत्र रहेको संघले जनाएको हो ।

आश्विन १९, २०८२

सुरज कुँवर

A helicopter flew from Kathmandu to search for the missing Korean climber and guide in Mera Peak

काठमाडौँ — नेपाल पर्वतारोहण संघको पहलमा हाई अल्टीच्यूट गाइड रितेन तासी शेर्पा र अशिष गुरुङ उद्धार अभियानका लागि मेरा पिक क्षेत्रतर्फ प्रस्थान गरेका छन् । उनीहरु दुवै जना अन्तर्राष्ट्रिय मान्यता प्राप्त पथप्रदर्शक हुन् ।

मौसम बिग्रिएपछि, शनिबारदेखि ४६ वर्षका कोरियन नागरिक तेजुङ पार्क र शेर्पा गाइड तेम्बा शेर्पा हराइरहेका छन् । 

उनीहरू हराएका क्षेत्र मेरा हाइक्याम्प र मेरा पिकको चुचुरोभन्दा करिब ३०० मिटर तलको बीच क्षेत्र रहेको संघले जनाएको हो ।

उनीहरूले शनिबार बिहान करिब ३ बजे मेरा पिक आरोहणका लागि चुचुरोतर्फ यात्रा सुरु गरेका थिए ।

‘नेपाल पर्वतारोहण संघले उद्धार अभियानका लागि व्यावसायिक पर्वतीय गाइडहरू परिचालित गरेको छ । हामी उद्धार टोलीको सुरक्षा र सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं र हराएका आरोही र गाइडको सुरक्षित उद्धारको आशा गर्दछौं,’ संघका अध्यक्ष फुर्बा ग्यालजेन शेर्पाले भनेका छन् ।

मेरा पिक सगरमाथा क्षेत्रमा पर्दछ । ६,४७६ मिटर उचाईको यो हिमाल सगरमाथाको पूर्वतिर अवस्थित छ । मेरा पिक नेपालकै उच्च ट्रेकिङ पिक मानिन्छ र आरोहीहरूका लागि चुनौतीपूर्ण तर अत्यधिक प्राविधिक नहुने चढाइको लागि यो लोकप्रिय छ । 

यो हिमालको चुचुरोबाट सगरमाथा, ल्होत्से, चो ओयू, मकालु र अन्य हिमालको शानदार दृश्य देख्न सकिने भएकाले आरोहीहरुमाँझ यो लोकप्रिय छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully