इलामका १३ जलविद्युत् आयोजना बाढीले ठप्प, उत्पादन रोकियो

निर्माणाधीन ९३ मेगावाट क्षमताका ६ आयोजना पनि बाढीबाट प्रभावित भएको इप्पानले जनाएको छ ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

13 hydropower projects of Ilam were stopped by flood, production stopped

काठमाडौँ — अविरल वर्षाका कारण आएको बाढीले इलामका १३ जलविद्युत् आयोजनाबाट १०५.४ मेगावाट क्षमताको बिजुली उत्पादन बन्द भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार १३ वटा आयोजना बाढीबाट प्रभावित भई उत्पादन ठप्प भएको हो। प्रभावित आयोजनामा ४.५ मेगावाटको माइ खोला हाइड्रोपावर, ८ मेगावाटको माइ खोला क्यासकेड, २२ मेगावाटको माइ खोला, ७ मेगावाटको माइ खोला क्यासकेड, ७.८ मेगावाटको सुपर माइ, ९.६ मेगावाटको सुपर माइ ए, ३ मेगावाटको सुपर माइ ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माइबेनी हाइड्रोपावर, ९.९ मेगावाटको माथिल्लो माइ खोला र ५.१ मेगावाटको माइ सी क्यासकेड रहेका छन्।

यी आयोजनामा पावरहाउस, कल्भर्ट, हेडवर्क्स, प्रसारण लाइन तथा पावरहाउसमा पानी पसेर क्षति पुगेको इप्पानले जनाएको छ। निर्माणाधीन ९३ मेगावाट क्षमताका ६ आयोजना पनि बाढीबाट प्रभावित भएको इप्पानले जनाएको छ।

इप्पानका अनुसार यो तथ्यांक आइतबार दिउँसो २ बजेसम्मको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully