बाढी–पहिरोको जोखिममा उच्च सतर्कता : विद्युत् संरचना जोगाउन प्राधिकरण तयारी अवस्थामा

प्राधिकरणले बाढी र पहिरोका जोखिममा पनि विद्युत् सेवा छिटो सुचारु गर्न मर्मत टोली, उपकरण र कर्मचारीहरू तयारी अवस्थामा राखेको छ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

High alert on the risk of floods and landslides: The authority is in a state of readiness to protect the power structure

काठमाडौँ — भारी वर्षा र बाढी–पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युतीय संरचना जोगाउन उच्च सतर्कता अपनाएको छ। 

विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी लाइन तत्कालै सुचारु गराउन कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार विपद्‌का समयमा मुख्य रूपमा सबस्टेसन, विद्युत् उत्पादन गृह, प्रसारण लाइन र वितरण संरचनामा क्षति पुग्ने सम्भावना रहने भएकाले पूर्वतयारीस्वरूप आवश्यक उपाय अपनाइएको छ।

‘बाढीले विद्युत् गृहको बाँध क्षेत्र डुबानमा पर्ने सम्भावना रहेकाले गेट सञ्चालनका लागि अघिसम्म एक सिफ्टमा ३ जना कर्मचारी खटाइन्थ्यो,’ उनले भने, ‘अब त्यसलाई बढाएर ६ जना बनाइएको छ।’
सबस्टेसनहरू डुबानमा परेमा पानी निकाल्न आवश्यक पम्पहरू तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। पहिरोको जोखिम भएका स्थानहरूमा रहेका प्रसारण लाइनका टावर वरपर त्रिपालले ढाकिएको छ।

विद्युत् सेवा अवरुद्ध भएमा मर्मतका लागि प्राविधिक टोली तत्काल खटिने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

सेवाग्राहीले सम्बन्धित वितरण केन्द्र, ‘नो लाइट’ सेवा, हेल्पडेस्क वा हटलाइन नम्बर ११५० मा जानकारी गराएपछि मर्मत टोली पठाइने व्यवस्था गरिएको कार्यकारी निर्देशक सिलवालले बताए।

कान्तिपुर

Link copied successfully