सहजै पाइँदैन नेपाल ग्यास, ८ लाख उपभोक्ता मारमा, तर निगम बेखबर

आयल निगम भन्छ– ‘माग भन्दा बढी ग्यास आएको छ, अन्यको अभाव छैन । नेपाल ग्यास अभाव हुनु आर्थिक वा व्यवस्थापनको कमजोरी हुनसक्छ’

आश्विन १४, २०८२

राजु चौधरी

Nepal gas is not easily available, at the expense of 8 lakh consumers, but the corporation is unaware

काठमाडौँ — ग्यास बिक्रेता महासंघ नेपालका केन्द्रीय सदस्य श्रीहरी ढकालले गत आइतबार सामाजिक सञ्जालमा नेपाल ग्यास वितरण गर्न नसक्नु लज्जाको विषय बनेको भन्दै एक पोष्ट गरे । ‘चाडबाडको मुखमा नेपाल ग्यास उद्योगले ग्यास वितरण गर्न नसक्नु लज्जाको विषय हो । ग्राहकलाई पर्न गएको असुविधाको लागि माफी चाहन्छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल ग्यासको नियमित ग्यास आपूर्तिमा असफल हुँदा ग्यास उपलब्ध गराउन नसकिएकोमा माफी चाहन्छु ।’

नेपाल ग्यासको डिलरसमेत रहेका ढकाल एउटा प्रतिनिधि पात्र मात्रै हुन् । नेपाल ग्यास बिक्री गर्ने धेरैजसो डिलरको अवस्था उस्तै छ । कम्पनीबाट समयमै ग्यास नपाउँदा सर्वसाधारणहरु हप्तौं कुर्न बाध्य छन् । मुख्यत: उपत्यकामा मार्केटिङ गर्दै आएको नेपाल ग्यास बजारमा सहजै पाइँदैन । ग्यास पाउनका लागि साता, दश दिन बढी नै कुनुपर्ने अवस्था छ ।

‘उपत्यकामा सबै भन्दा धेरै ग्यास बेच्ने नेपाल ग्यास नै हो । उपत्यकामा करिब ८ लाख सिलिन्डर छ । तर उद्योगको आन्तरिक किचलोले सर्वसाधारणहरु मारमा परे,’ नाम उल्लेख गर्न नचाहने एक डिलरले भने, ‘ठूलो उद्योगको नाताले मौज्दातको व्यवस्था पनि गर्नुपर्थ्यो, तर भण्डारण छैन । दुईचार दिन ग्यास आयात नहुँदा महासंघकै पदाधिकारीको डिपो पनि ग्यास पुग्दैन ।’

अहिले बजारमा देखिएको नेपाल ग्यास अभाव पहिलो पटक भने होइन । अन्य बेला पनि पटक–पटक समस्या देखिएको छ । तर अहिले चाडबाडमै अभाव छ । यसले उपभोक्तालाई धेरै समस्या पारेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सीनाले बताए । ‘अन्य बेला अभाव हुँदा सामान्य रुपमा लिइए पनि चाडबाडमा आपूर्ति व्यवस्थापन मिलाउन नसक्नु उद्योग पूर्णरुपमा असफल भएको मान्न सकिन्छ । चाडबाडमा सर्वसाधारणलाई ग्यास दिननसक्नु गैरजिम्मेवारी हो,’ उनले भने, ‘अन्य ग्यास कम्पनीको अभावको गुनासो छैन । तर नेपाल ग्यासको दैनिक ४/५ वटा गुनासो आएको छ । सर्वसाधारणमाथि खेलबाड गर्न मिल्दैन । आन्तरिक लफडा होस् या व्यवस्थापिक कमजोरी तत्काल सच्याउनुपर्छ ।’

चाडबाडमै ग्यास अभाव हुनुमा नेपाल आयल निगम पनि दोषी भएको उनले दाबी गरे । ‘आपूर्ति व्यवस्था चुस्त बनाउने दायित्व निगमको हो । ग्यास अभाव हुँदासमेत निगम मौन बस्नु भनेको व्यवस्थापनको गैर जिम्मेवारीपन हो,’ अध्यक्ष तिमिल्सीनाले भने, ‘चाडबाडमा ग्यास अभाव हुनुमा दोषी पत्ता लगाएर कानुनी दायरामा ल्याउन जरुरी छ ।’ 

ग्यास बिक्रेता महासंघका अनुसार नेपाल ग्यासबाहेक अन्य ग्यासमा त्यति समस्या देखिएको छैन । अभावको गुनासो पनि आएको छैन । नेपाल ग्यासको हकमा भने बेलाबेलामा समस्या देखिएको महासंघका अधिकारीहरु बताउँछन् । महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु दुलालका अनुसार नेपाल ग्यासको साढे ३ सयदेखि ४ सय डिलर/डिपो रहेको छ ।  पछिल्लो समय अभाव हुनुमा राजमार्ग अवरुद्ध मुख्य कारक भएको उनले दाबी गरे ।

‘ग्यासको बुलेट बाटोमा रोकियो । ४/५ दिन बिक्री भएन,’ वरिष्ठ उपाध्यक्ष दुलालले भने, ‘अन्य ग्यास कम्पनीमा पनि केही समस्या छ, तर उपत्यकामा नेपाल ग्यास बढी बिक्री हुन्छ । त्यही भएर समस्या बढी भएजस्तो देखियो ।’ बालाजु क्षेत्रमा नेपाल ग्यास अभाव नभएको उनले दाबी गरे । नेपाल ग्यासको फ्याक्ट्री बालाजुमै भएकाले त्यस क्षेत्रमा अभाव कम भएको हो । तर अन्य क्षेत्रको हकमा नेपाल ग्यास सहजै नपाएको तिमिल्सिनाको भनाइ छ ।

नेपाल ग्यास उद्योगका म्यानेजर बुद्धि पण्डित राजमार्गको पहिरोका कारण ४/५ दिन ग्यास बुलेट आउन नसकेको बताए  । ग्यास बुलेट नआउँदा फ्याक्ट्री बन्द गर्नुपरेको उनको भनाइ छ । ‘पछिल्लो दिनमा २२ वटा बुलेट आयो । आइतबार र सोमबारदेखि ग्यास बजारमा पठाउन सुरु गरेका छौं । दुई दिनमा २३/२४ हजार सिलिन्डर ग्यास पठाएका छौं,’ उनले भने, ‘एक त राजमार्गमा समस्या भयो । दोस्रो भारतीय आयल निगम (आइओसी)को बरौनी रिफाइनेरीमा पनि सहज लोडिङ भएन । बरौनीमा लोड नहुँदा अन्य रिफाइनेरीबाट आयात गर्दा पनि ढिलाइ भयो ।’

ग्यास बरौनी, पारादिप, मथुरा, हल्दिया, दुर्गापुर रिफाइनेरीबाट ग्यास आयात गर्छन् । नेपाल ग्याससँगै अन्य ग्यास कम्पनीहरु पनि सोही रिफाइनेरीबाट आयात गर्छन् । अन्यको भने अभाव नभएको बिक्रेताहरु बताउँछन् ।

म्यानेजर पण्डितले अभाव हुनुको अर्को कारक चाडबाड रहेको बताए ।  ‘चाडबाडमा ग्यास सिलिन्डरको माग पनि उच्च छ । दैनिक ६/७ हजार सिलिन्डर पठाउनुपर्नेमा ४/५ दिन फ्याक्ट्री नै बन्द हुँदा बजारमा केही समस्या देखियो । चाडबाडमा मागेको सबै ठाउमा पुर्‍याउन सकेनौं,’ उनले भने,‘अब विस्तारै सहज बन्दै गएको छ । आइतबार कार्यालय खुले पछि बजारमा सहज बन्छ ।’

हाल नेपालमा ५९ ग्यास कम्पनीहरु रहेका छन् । ती उद्योगको भण्डारण बढीमा औसत ७ देखि १० दिनको मात्रै हो । स्वदेशी उद्योगीसँग सीमित दिनका लागि मौज्दात राख्न सके पनि नेपाल आयल निगमसँग मौज्दात गर्ने संरचना छैन । निगमले ग्यासको प्रोडक्ट डेलिभरी अडर (पिडिओ) जारी गर्ने मात्रै गर्ने गरेको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले नेपाल ग्यास उद्योगमा आर्थिक समस्या वा व्यवस्थापकीय कमजोरीले अभाव भएको हुनसक्ने बताए । ‘पछिल्लो समय माग भन्दा बढी ग्यास आएको छ । सामान्य अवस्थामा दैनिक ७० देखि ७५ बुलेट भित्रिने गरेकोमा अहिले एक सय बढी भित्रिन्छ,’ उनले भने, ‘अन्य ग्यास कम्पनीको ग्यास अभाव छैन । नेपाल ग्यास व्यवस्थापन गर्न नसकेर पनि समस्या भएको हुनसक्छ ।’

नेपाल ग्यासको मुख्य सञ्चालक गुणचन्द्र बिष्ट र गोकुल भण्डारी हुन् । स्रोतका अनुसार पछिल्लो समय विष्ट र भण्डारीबीच सम्बन्ध सुमधुर छैन । सोही कारण नेपाल ग्यास कम्पनी बिक्रीमा राखिएको छ । भण्डारीले करिब डेढ महिनायता व्यवस्थापनको जिम्मा लिएका छैनन् ।

‘सञ्चालक भण्डारीले व्यवस्थापनको जिम्मा लिएर काम गर्दा ठिकै चलेको थियो । करिब ८५ प्रतिशत शेयर होल्डर रहेका विष्टले करिब एक वर्षयता सीईओको रुपमा श्रीचन्द्र भट्टलाई जिम्मेवारी दिएका छन,’ स्रोतले भन्यो, ‘सीईओलाई ग्यास फ्याक्ट्री, कुखुरा, अण्डा सबै हेर्नेगरी जिम्मा दिइएको छ । त्यसपछि ग्यास कम्पनी भद्रगोल भयो ।’ 

‘अहिले भइरहेको ग्यास कम्पनीको ऋण स्वीकार गरेर थप ८० करोड रुपैयाँ दिएर किन्न खोजेका छन्,’ स्रोतले भन्यो, ‘तर सञ्चालकले ऋण र १अर्ब २५ करोड रुपैयाँ माग गर्दैछन् ।’  

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully