न्यून गुणस्तर दूध फेला परेपछि शिव डेरीको १७ सय लिटर दूध नष्ट

शिवम ब्राण्डको प्रशोधित दूध नमुना संकलन र परीक्षण गर्दा दूधमा न्युट्रलाइजर (सोडियम हाइड्रोअक्साइड) फेला परेपछि विभागको अनुगमन टोलीले दूध नष्ट गरेको हो ।

आश्विन १२, २०८२

कान्तिपुर संवाददाता

1700 liters of milk of Shiv Dairy was destroyed after low quality milk was found

काठमाडौँ — भक्तपुरस्थित शिव डेरी प्रालिले उत्पादन गरेको दूध न्यून गुणस्तर भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १७ सय लिटर दूध नष्ट गरेको छ । 

शिवम ब्राण्डको प्रशोधित दूध नमुना संकलन र परीक्षण गर्दा दूधमा न्युट्रलाइजर (सोडियम हाइड्रोअक्साइड) फेला परेपछि विभागको अनुगमन टोलीले दूध नष्ट गरेको हो । ‘दूधमा न्युट्रलाइजर भेटिनु भनेको न्यून गुणस्तर हो, अखाद्य वस्तु हो,’ अनुगमन सहभागी एक अधिकारीले भने, ‘न्यून गुणस्तर हुन गएको १७ सय लिटर दूध नष्ट गरेका छौं ।’ त्यस्तै, दूधको गुणस्तर सुनिश्चित गरेर मात्र बिक्री वितरण गर्न निर्देशन दिइएको छ ।

विभागले पछिल्लो समय चाडबाड लक्षित अनुगमन गर्दै आएको छ । एकसातामा ६ सय ४१ वटा किराना पसल,खाद्य बजार, राजमार्गकेन्द्रित होटलमा अनुगमन गरेको छ । ‘पछिल्लो समय राजमार्गकेन्द्रित अनुगमन गरेका छौं । सँगसँगै दूध, पानी उद्योगमा पनि अनुगमन गरेका छौं,’ ती अधिकारीले भने, ‘अनुगमनको क्रममा केही कैफियत भए सुधारको निर्देशन दिएका छौं, धेरै कैफियतको अवस्थामा कारबाहीको दायरामा पनि ल्याएका छौं ।’ 

विभागले एकसातामा करिब डेढ लाखको खाद्यवस्तु नष्ट गरेको छ । ४७ थान प्रशोधित पिउने पानीको जार नष्ट गरेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully