चट्याङले क्षति पुर्‍याएको सिंगटी–बाह्रबिसे प्रसारण लाइन सञ्चालनमा

बुधबार दिउँसो हावाहुरीसहित परेको चट्याङले १ सय ३२ केभी प्रसारण लाइनको ३२ नम्बर टावरमा क्षति गरेपछि पाँच वटा जलविद्युत् आयोजनाको ८९ मेगावाट विद्युत् अवरुद्ध बनेको थियो ।

आश्विन ११, २०८२

केदार शिवाकोटी

Lightning-damaged Singti-Bahrbise transmission line in operation

दाेलखा — चट्याङले क्षति गरेको सिंगटी–बाह्रबिसे प्रसारण लाइन मर्मतपछि सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै दोलखामा उत्पादित जलविद्युत् आयोजनाको ८९ मेगावाट विद्युत् पुनः राष्ट्रिय प्रसारण लाइनमा प्रवाह भएको छ ।

बुधबार दिउँसो हावाहुरीसहित परेको चट्याङले सिंगटी–बाह्रबिसे १ सय ३२ केभी प्रसारण लाइनको ३२ नम्बर टावरमा क्षति गरेपछि पाँच वटा जलविद्युत् आयोजनाको ८९ मेगावाट विद्युत् अवरुद्ध बनेको थियो । चाडपर्वमा विद्युतको माग धान्न तत्कालका लागि वैकल्पिक रुपमा मर्मत गरेर प्रसारण लाइन सञ्चालनमा ल्याइएको खिम्ती ग्रेड शाखाका प्रमुख मनोज साहले बताए ।

शाखाले रामेछाप, दोलखा र सिन्धुपाल्चोकका ६ वटा सबस्टेसन हेर्दै आएको छ । उनका अनुसार चट्याङ सिंगटी–बाह्रबिसे १ सय ३२ केभी प्रसारण लाइन अन्तरगत दोलखाको कालिञ्चोक गाउँपालिका–७ मा रहेको ३२ नम्बर टावरको चुँडिएको तारलाई सिंगल सर्किटमा मिलाएर हालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको हो ।

‘चाडपर्वमा विद्युतकाे माग उच्च हुने हुँदा अस्थायी समाधान खोजेर प्रसारण लाइनलाई मर्मत गरेका हौं,’ उनले भने, ‘डबल सर्किटको काम चलिरहेकाले त्यो समयमा स्थायी रुपमा समाधान गर्नेछौं  ।’ प्रसारण लाइन सञ्चालनमा आएसँगै निजी क्षेत्रबाट बनेका पाँच वटा जलविद्युत् केन्द्रको ८९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको उनले बताए ।

दोलखाको उत्तरी क्षेत्रमा निजी क्षेत्रबाट बनेका जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् सिंगटी सब–स्टेसनबाट १ सय ३२ केभी प्रशारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा पुर्‍याएर राष्ट्रिय प्रसारणमा पठाइने गरिएको छ । हाल सिंगल सर्किटमा सञ्चालनमा रहेको यो प्रसारण लाइनलाई दसैंपछि डबल सर्किटमा सञ्चालनमा ल्याउने तयारी थालिएको साहले बताए । 

केदार

Link copied successfully