राजमार्ग अवरुद्ध भएपछि बढाइयो ताजा तरकारीको मूल्य

एक सातामा ७१ प्रतिशतसम्मले मूल्यवृद्धि, खुद्रा पसलमा मनपरी मूल्य 

आश्विन ११, २०८२

राजु चौधरी

After the highway was blocked, the price of fresh vegetables was increased

काठमाडौँ — पहिरोले राजमार्गहरूमा अवरोध सिर्जना गरेसँगै हरियो तरकारीको मूल्य बढ्न थालेको छ । उपत्यका भित्रिने मुख्य नाका नागढुंगा–नारायणगढ सडकअन्तर्गत धादिङको जवाङखोला र चितवन तुइनखोलामा पहिरो खसेपछि उपत्यकामा पर्याप्त तरकारी नभित्रिँदा मूल्य बढेको हो ।

अहिलेको सिजनमा औसत दिनको ७ सय टनसम्म तरकारी भित्रिनुपर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको भनाइ छ । तर आगमन न्यून छ । उपत्यकाको मागअनुसार भित्रिएको छैन । जसले गर्दा तरकारीको मूल्य होलसेलमै बढेको छ ।

‘पछिल्लो समय मूल्य बढ्नुको कारण आपूर्तिमा कठिनाइ नै हो । तरकारी अन्य नाकाबाट भित्रिए पनि मुख्य नाका अवरुद्ध भएको छ । सहज रूपमा तरकारी भित्रिन सकेको छैन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘यसले मूल्य बढाउन सघाएको छ ।’ 

समितिको मूल्य विश्लेषण तथ्यांकअनुसार एक सातायता सबैभन्दा धेरै काँक्रो (हाइब्रिड) को मूल्य ७१.२० प्रतिशतले बढेको छ । असोज ४ मा प्रतिकिलो २४ रुपैयाँ (होलसेल मूल्य) मा बिक्री भएको काँक्रोको मूल्य बढेर ४३ रुपैयाँ पुगेको छ । काँक्रोसँगै गोलभेडा, आलु, सुकेको प्याज, बन्दा, काउली, बोडी, घिउसिमी, मटरकोसा, तितेकरेला, लौका, हरियो फर्सी, भिन्डीलगायत सबैजसो हरियो तरकारीको मूल्य बढेको छ ।

असोज ४ मा फर्सी हरियो (लाम्चो) को मूल्य किलोको ३५ रुपैयाँ थियो । बिहीबार (असोज ९ मा) मूल्य ५९ प्रतिशतले बढेर ५६ रुपैयाँ पुगेको छ । प्रतिकिलो ७५ रुपैयाँ रहेको भिन्डीको मूल्य बढेर ८४ रुपैयाँ, किलोको ७५ रुपैयाँ पर्ने रायो सागको मूल्य बढेर १ सय ८ रुपैयाँ, किलोको ९० रुपैयाँ पर्ने पालुंगो साग बढेर १ सय २२ रुपैयाँ पुगेको छ ।

‘बिहीबार बिहान ७ बजेसम्म हरियो तरकारी १ सय ८४ टन आयो । तरकारी, फलफूल, माछालगायत सबै गरेर ३ सय ६३ टन आयो । बुधबार पनि ताजा तरकारी २ सय २३ टन मात्रै आयो, सबै गरेर ४ सय ८९ टन मात्रै भित्रियो,’ श्रेष्ठले भने, ‘मंगलबारको आगमन हेर्दा पनि पर्याप्त छैन । तरकारी, फलफूल, माछालगायत सबै गरेर ६ सय १७ टन मात्रै आयो ।’ 

सोमबार भने तरकारी मात्रै ८ सय १० टन भित्रिएको थियो । फलफूल माछासहित ९ सय ३९ टन भित्रिएको थियो । तर शनिबार तरकारी, फलफूल माछा गरेर जम्मा ५ सय १८ टन मात्रै भित्रिएको थियो । जसले गर्दा बजार मूल्य केही बढेको श्रेष्ठको भनाइ छ । 

समितिका अनुसार कन्ये च्याउका मूल्य १० प्रतिशतले बढेर किलोको १ सय ८४ रुपैयाँ पुगेको छ । ब्रोकाउली २१ प्रतिशतले बढेर १ सय ८२ रुपैयाँ, लोकल गोलभेडा ५ प्रतिशतले बढेर किलोको ४३ रुपैयाँ र टनेल गोलभेडा ९ प्रतिशतले बढेर किलोको ५५ रुपैयाँ पुगेको छ ।

उपत्यकामा धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर र तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । भारतबाट पनि तरकारी आयात हुन्छ । तराई र भारतबाट आउने मुख्य नाकामा समस्या हुँदा पर्याप्त तरकारी भित्रिन नसकेको समितिले जनाएको छ । रातो आलुको मूल्य १४ प्रतिशतले बढेर ३६ रुपैयाँ, सुकेको प्याज (भारतीय) को मूल्य १७ प्रतिशतले बढेर प्रतिकिलो ४२.२५ रुपैयाँ पुगेको छ । 

एक साताअघि किलोको ४४ रुपैयाँ रहेको बन्दाको मूल्य बढेर ४८ रुपैयाँ, तने बोडी १ सय ११ रुपैयाँबाट बढेर १ सय ३८ रुपैयाँ पुगेको छ । किलोको ९५ रुपैयाँ पर्ने घिउसिमीको मूल्य बढेर १ सय ३० रुपैयाँ, किलोको ८५ रुपैयाँ पर्ने मटरकोसाको मूल्य बढेर १ सय २ रुपैयाँ पुगेको छ ।

होलसेलमै मूल्य बढ्दा खुद्रा मूल्य पनि अचाक्ली चुलिएको हो । खुद्रामा पसलैपिच्छे मूल्य फरक पाइन्छ । जानकारका अनुसार तरकारी एकथरी बिचौलियाले किसानबाट संकलन गर्ने, अर्कोले थोक बजारसम्म ल्याइदिने र खुद्रा पसलले पनि होलसेल नगई गाडीमार्फत आफैं ल्याउने प्रचलन छ । यसरी विभिन्न तह हुँदा मूल्य आफूखुसी निर्धारण हुने गरेको हो । 

व्यवसायीको सटर भाडामा पनि एकरूपता छैन । जसले गर्दा व्यवसायीले उपभोक्ताबाट चर्को शुल्क असुल्दै आएका छन् । तर सरकारले बजार अनुगमन गरेको छैन । पछिल्लो समय अनुगमन सुधार गर्न निर्देशन मात्रै दिने गरेको छ । जसले गर्दा बजारमा लुट मच्चिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । 

‘चाडबाडको मुखमा सर्वसाधारण ठगिने धेरै सम्भावना हुन्छ । यही बेला अनुगमनको खाँचो पनि छ, तर पछिल्लो समय अनुगमन सुस्त छ, ठगी गर्नेलाई पनि निर्देशन मात्रै दिएर उन्मुक्ति दिइएको छ,’ तिमिल्सिनाले भने, ‘ठगी गर्नेलाई छुट हुँदा बद्मासी गर्ने व्यापारीको मनोवल झन् बढेको छ ।’ 

कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीले उपत्यकाको ७० देखि ७५ प्रतिशत माग धान्छ । बाँकी, बल्खु, बालाजु, टुकुचा, कोटेश्वर, चाबहिललगायत तरकारी बजारले धान्दै आएका छन् ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully