निर्बाध पेसा व्यवसाय गर्ने अधिकारको सुनिश्चितताले मात्रै भ्रष्टाचार नियन्त्रण, सुशासन, मुलुकमै रोजगारी, राजस्व सदुपयोग जस्ता युवाको चाहना पूरा हुने ढकालले बताएका छन् ।
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो सर्त भएको बताएका छन् । बुधबार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मूल्यांकन प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट व्यापक तोडफोड एवं आगजनीका घटनाले सरकारी तथा निजी उद्योग प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्तिमा अकल्पनीय क्षति भएको र यसले आम मानिस तथा उद्योगी व्यवसायीको मनोबल कमजोर बनाएको उनले बताए ।
'त्यो घटनापछि उद्योगी व्यवसायीको मनोबल कमजोर भएको छ । लगानीको लागि उच्च मनोबल चाहिन्छ । मनोबल उकास्न शान्ति सुरक्षा चाहिन्छ,' ढकालले भने, 'भ्रष्टाचार नियन्त्रण, सुशासन, मुलुकमै रोजगारीको अवसरको सिर्जना, राजस्व सदुपयोग जस्ता युवाको चाहना निर्बाध पेसा व्यवसाय गर्ने अधिकारको सुनिश्चितता र लगानी एवं रोजगारी प्रवर्धनको कारणले मात्र सम्भव हुने भएकाले यसका लागि उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक छ ।'
अध्यक्ष ढकालले जेन-जी आन्दोलनपछि क्षति भएका पूर्वाधार पुनर्निर्माणमा सरकारले स्रोत संकलनलाई आह्वान गरेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम ल्याउन सकिने तर त्यसका लागि सीएसआरको रकम खर्च लेख्न पाउने व्यवस्था आवश्यक रहेको बताए ।
अध्यक्ष ढकालले भन्सार जाँचपासमा स्वचालित मूल्यांकन प्रणाली लागू हुनु सकारात्मक भएको र यसले कागजी प्रक्रियाको झन्झट समाप्त हुने बताए ।
