हाल स्विस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालित छन्।
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्यान्डतर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्।
भेटमा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, अल्पकालीन र दीर्घकालीन सहयोगका सम्भावित क्षेत्र, स्विस लगानी, द्विपक्षीय सहयोगलगायत विषयमा छलफल भएको थियो। स्विस सरकारबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिँदै मन्त्री घिसिङले जेन-जी आन्दोलनपछि गठित सरकारको प्रमुख प्राथमिकता चुनाव, आन्दोलनका कारण क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माण र सुशासन कायम गर्दै युवामा आशा जगाउने रहेको बताए।
उनले विद्युतीय सवारीसाधन प्रवर्द्धन, घरायसी प्रयोजनमा विद्युत्लाई इन्धनको रूपमा प्रयोग गर्न प्रोत्साहन, स्विट्जरल्यान्डले सडक यातायातमा प्रयोगमा ल्याएको सुरुङ प्रविधि नेपालमा अनुकरण, हरित हाइड्रोजन ऊर्जाको प्रवर्द्धन, साना उद्योग स्थापनामार्फत रोजगारी सिर्जनाका लागि आवश्यक तालिममा सहयोग गर्न आग्रह गरे।
हाल स्विस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालित छन्।
राजदूत मेउलीले नेपाल ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सधैँ तयार रहेको बताइन्।
