ट्रकमा खाँदाखाँद छन् प्याज, लसुन र आलुका बोरा, कुनै ट्रकले निर्माण सामग्री छड–सिमेन्ट पनि बोकेका छन्, ठाउँ–ठाउँमा छन् एलपी ग्यास बोकेका बुलेट र पेट्रोलियम पदार्थका ट्यांकर पनि अलपत्र बनेका छन् । नारायणगढ–मुग्लिन सडकमा बुधबार बस र यात्रु खासै देखिएनन्, बाटाभरि मालवाहक ट्रक मात्र देखिए ।
चितवन — तुइनखोलामा ठूलो पहिरो गएर बाटो थुनिँदा नारायणगढ–मुग्लिन सडकमा बुधबार बस र यात्रु खासै देखिएनन् । बाटाभरि छन् त मालवाहक ट्रक । भारतीय नम्बर प्लेट र नेपाली ट्रकमा खाँदाखाँद छन् प्याज, लसुन र आलुका बोरा । कुनै ट्रकले निर्माण सामग्रीहरू छड–सिमेन्ट पनि बोकेका छन् । ठाउँ–ठाउँमा छन् एलपी ग्यास बोकेका बुलेट र कतै–कतै भेटिन्छन् पेट्रोलियम पदार्थ बोकेका ट्यांकर पनि ।
पहिरोग्रस्त क्षेत्र तुइनखोलाभन्दा झन्डै डेढ किलोमिटर वर टोपेखोला नजिक भेटिए सर्लाहीका नवीन चौधरी र चितवनका पवन राना । नवीन बा प्र–०३–००१ ख ३४९६ नम्बरको ट्रक र पवन ना ६ ख ९१७६ नम्बरको ट्रकका चालक हुन् । यी दुई चालक र यिनका दुई सहचालक मिलेर सडकमै बिहानको खाना बनाएर खाए । नवीनको ट्रकले सर्लाहीबाट ४२१ बोरा अर्थात् २१ क्विन्टल चिनी बोकेर आएको छ ।
‘अस्ति असोज ५ गते सर्लाहीबाट हिँडेको हो । आजसम्म कम्तीमा दुई खेप गरौंला भन्ने थियो । चाडबाडमा काठमाडौंमा चिनीको माग उच्च हुन्छ । तर त्यही एक खेप पनि आज तीन दिन भयो, ठाउँमा पुर्याउन सकिएको छैन,’ नवीनले भने । सर्लाहीबाट चितवन रामनगर आइपुग्दा जाममा परेका उनी त्यसपछि मुग्लिन कहिले पुग्ने हुन्, ठेगान छैन । बिहीबार पहिरो खुल्छ भन्ने खबर त छ । तर विश्वास नरहेको उनको भनाइ छ ।
तुइनखोलाको पहिरो खुले पनि अरू ठाउँ फेरि खस्ने हो कि भन्ने डर उनको मनमा छ । काठमाडौं जाने बाटोको ठाउँ–ठाउँमा पहिरो खसेको छ । पवन रानाले चितवन टाँडीबाट कुखुराको दाना लिएर काठमाडौं हिँडेका थिए । उनले पनि असोज ५ मै बाटो समाएका हुन् । तर बाटो थुनिँदा उनी हैरान छन् । ‘काठमाडौंबाट तारन्तार फोन आइरहेको छ, लौ न दाना ल्याउनुपर्यो छिट्टै भन्दै । यहाँ पहिरोले यसरी बाटो थुनिएको छ,’ पवनले भने ।
पवन र नवीनको ट्रकले धन्न चाँडै खराब नहुने सामग्री बोकेका छन् । तर त्यहाँ लसुन, प्याज र अझ त्योभन्दा पनि चाँडो बिग्रने केरा बोकेका गाडी पनि अड्केका छन् । लसुन–प्याज बोकेका गाडी पाँच दिनदेखि बाटोमै बस्न बाध्य भएको चालक बताउँछन् । केही चालकले पहिरोले बाटो थुनिँदा सडक कार्यालयले पर्याप्त अपरेटर र मेसिन खटाएर काम नगरे गुनासो गरे । खानाको मूल्य पनि चर्को लिने गरेको उनीहरूको गुनासो छ ।
देशको संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक हो, नारायणगढ–मुग्लिन सडक । मुग्लिन नजिक तुइनखोलामा शुक्रबार साँझ पहिरो खसेपछि गाडी ठप्प थिए । साँझ खसेको पहिरो सफा गर्न नपाउँदै शनिबार बिहान झनै ठूलो पहिरो खस्यो । त्यो पहिरो सफा गरेर ४५ घण्टापछि आतबार दिउँसो एकतर्फी यातायात खुलेको थियो । सोमबार दिउँसो दुईतर्फी पनि खुलेको थियो ।
तर पहिरो र ढुंगा झर्न नरोकिएपछि गाडी घरी बन्द हुने घरी खुल्ने गर्दै थिए । मंगलबार दिउँसो पाँच बजेतिर ठूलो पहिरो खसेपछि सो सडकमा अहिले गाडी चल्न ठप्प भएको छ । पहिरोका कारण १४ हजार घनमिटर जति माटो, ठूला साना ढुंगा र गेग्रान सडकमा आएर थुप्रिएको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए । ‘यो भनेको निकै ठूलो पहिरो हो,’ उनले भने ।
नारायणगढतर्फ र मुग्लिनतर्फबाट मेसिनले पहिरो सफा गर्दै आएको छ । बिहीबार दिउँसोसम्म यातायात सञ्चालन हुन सक्ने सम्भावना रहेको फिल्डमै खटिरहेका डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले बताए । पहिरो ठूलो भएका कारण वैकल्पिक मार्ग अपनाउन प्रशासनले अपिल गरिसकेको छ ।
‘वैकल्पिक मार्ग अपनाउन भनेका कारण यात्रु बस यता आएनन् कि । सडकमा फसेका यात्रुहरूलाई हिजो नै हामीले प्रहरी स्कुलको बस प्रयोग गरेर नारायणगढसम्म ल्याएका थियौं । त्यसैले यात्रु पनि सडकमा कमै छन्,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले भने । वैकल्पिक सडक साँधुरा छन् । त्यसैले ठूला गाडी र मालवाहक ट्रकलाई उपयुक्त छैनन् ।
पवन र नवीनको ट्रकभन्दा अलि वरै भटिएका ना ६ ख ९१७६ नम्बरको बसका चालक दामोदर भण्डारीले आफ्ना सबै यात्रु आ–आफ्नै तरिकाले गन्तव्यतिर लागेको बताए । भण्डारीले दाङ–काठमाडौं जाने बस चलाउँदै आएका छन् । उनी पनि अन्य बसका चालक सहचालक साथीहरूसँग मिलेर सडकमै खाना पकाएर खाँदै थिए ।
‘हामी हिजो मंगलबार बिहान ३ बजेदेखि जाममा परेका हौं । अगाडि जान पाइएला भन्ने थियो । तर दिउँसो ५ बजे ठूलो पहिरो खसेपछि बाटो ठप्प भयो । बसमा काठमाडौं जान दाङबाट चढेका ३५ जना यात्रु थिए । अहिले कोही छैनन् । सबै आआफ्नो तरिकाले बाटो लागे,’ चालक भण्डारीले भने । मुग्लिनदेखि पाँच किलोमिटर पर त्रिशूलीमा रहेको झोलुङ्गे पुलले चितवन र तनहुँलाई जोडेको छ ।
उता तनहुँतर्फ त्रिशूलीको किनारैकिनार नारायणगढ–मुग्लिन सडकको समानान्तर सडक बन्न सुरु हुँदै छ । साना गाडी र मोटरसाइकलसम्म जेनतेन चल्न मिल्ने सो सडक हुँदै धेरैजना पहिरो छलेर मुग्लिन र पाँच किलोमिटर ओहोरदोहोर गरे । पहिरोग्रस्त क्षेत्रमा हिँडेर पनि वारपार गर्न सकिँदैन । त्यसैले मुग्लिनमा अड्केका यात्री समानान्तर सडक हुँदै पाँच किलोमा झोलुङ्गे पुल तरेर यता आउने र यताका उता गएर मुग्लिन पुग्ने गरे । त्यो सडकमा मंगलबार रातभर मोटरसाइकल र सानाखाले गाडी चलेको ट्रक चालक बताउँछन् ।
यात्रुहरू जे जसरी हुन्छ, जोखिम मोलेरै भए पनि गन्तव्यतर्फ लागे । तर सामान ढुवानी गर्ने ठूला ट्रकलाई पहिरो सफा कहिले हुन्छ भनेर कुर्नुको विकल्प छैन । राजधानीको आपूर्ति व्यवस्थालाई पनि सहज बनाउने मालवाहक ट्रक पनि गुड्ने प्रमुख मार्ग भएका कारण यो सडकलाई काठमाडौंको लाइफलाइन भनिन्छ । तर यही सडक चाडपर्वको समयमै पहिरोबाट प्रताडित छ ।
