‘असोज–कार्तिक र चैत–बैसाख नेपालका मुख्य पर्यटकीय सिजन हुन । सिजनकै मुखमै जेनजी आन्दोलन भयो । अर्को सिजनमा आमनिर्वाचन हुँदैछ । व्यवसायीहरु भनिरहेका छन्- सरकारले नेपाल सुरक्षित छ भनेर विश्वभर पुग्ने गरी भनिदेओस्’
काठमाडौँ — जेन-जी आन्दोलनका कारण नेपालको पर्यटन बजार प्रभावित बनेको छ। यतिबेला रामेछाप विमानस्थल सुनसान छ । यदि जेन-जी आन्दोलन नभएको भए, आज यो दृश्य बिल्कुलै फरक हुने थियो । तारा, समिट र सीता एयरका दैनिक २०–२२ वटा उडानमार्फत सयौं पर्यटकहरू रामेछापबाट लुक्ला पुग्थे र सगरमाथा आधार शिविरसम्मको पदयात्रामा निस्कन्थे । तर अहिले रन-वेमा न जहाज छन्, न यात्रुको चहलपहल ।
आन्तरिक वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की भन्छन्, ‘अब दसैँ टिकाको भोलिपल्ट मात्र रामेछापमा जहाज पठाउँदैछौं ।’ उनका अनुसार आन्दोलनको प्रत्यक्ष असर सबैभन्दा बढी लुक्लाको तुलनामा जोमसोममा परेको छ ।
जेन-जीको आन्दोलनअघि नै पोखरा–जोमसोम उडान सुचारु भइसकेको थियो । मुक्तिनाथ क्षेत्रमा यो मौसममा भारतीय तीर्थयात्रीको भीड हुने गर्थ्यो । तर अहिले विमानहरू पोखरा–जोमसोम होइन, नेपालगन्ज–कर्णालीतर्फ फर्किएका छन् ।
जेन-जीको आन्दोलनपछि नेपालको पर्यटन उद्योगमा कस्तो असर परेको छ भनेर सगरमाथाको प्रवेशद्वार लुक्ला र हिमालपारिको जिल्ला मुस्ताङको माथिको कथाले छर्लङ्गै देखाउँछ । लुक्ला जाने विदेशी पर्यटकदेखि मुक्तिनाथ पुग्ने भारतीय तीर्थयात्रीसम्म सबै प्रभावित छन् ।
स्थानीय होटल व्यवसायी, गाइड र पोर्टरहरूको आम्दानी शून्यमा झरेको छ । रामेछाप र जोमसोमजस्ता पर्यटक–निर्भर क्षेत्र आज खाली र सुनसान बजारमा बदलिएका छन् । जेन-जी आन्दोलनले उठाएका माग र त्यसको औचित्य छुट्टै विषय हुन सक्छ । तर यसको प्रत्यक्ष प्रभावले नेपालकै पर्यटन अर्थतन्त्र हल्लाइदिएको छ । अब प्रश्न उठ्छ, ‘यो संकट कति दिन चल्छ ? र, पर्यटक गन्तव्यहरू फेरि पुरानै लयमा फर्कन कति समय लाग्ला ?’
दुर्गम उडानमा अग्रस्थानमा रहेको समिट एयरका प्रबन्ध निर्देशकसमेत रहेका कार्कीका अनुसार नेपालमा पर्यटक ल्याउने क्याथे प्यासिफिकको भदौ ३० गतेदेखि रोकिएको उडान असोज १५ पछि पुरानै लयमा सुचारु भएमा, नेपाल र नेपालीका लागि भिषा कडाइ गरिरहेका मुलुकहरूले उनीहरूले निर्णय फिर्ता लिएमा अघिल्ला वर्षझैँ अबको पर्यटकीय सिजनलाई धक्का दिने छैन । तर, नेपाल सरकारले नेपाल पर्यटककालागि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन जरुरी भएको बताउँछन् पदयात्रा व्यवासायीहरुको छाता संगठन टानका अध्यक्ष सागर पाण्डे ।
‘आउने शनिवार विश्वभर मनाइने विश्व पर्यटन दिवस हाम्रो ढोकामै आइसकेको छ । अस्तिको जेन-जी आन्दोलन सुनामी जस्तै आयो/गयो । धेरै दिन रहेन ।,’ झन्डै १७ सय पदयात्रासँग सम्बन्धित व्यवसायीहरूको संगठनको नेतृत्व गरिरहेका अध्यक्ष पाण्डेले भने,‘यो अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा रहेका विभिन्न देशका राजदूतसहितको एउटा विशाल कार्यक्रम गरेर, नेपाल सुरक्षित छ भनेर घोषणा गर्नुपर्छ ।’
उनका अनुसार, अहिलेको त्रास काराकारबाहिर रहका कैदी/बन्दी र हतियारबारे विश्व समुदायले हेरेर बसेको छ । व्यवसायीहरूले यसबारे सरकारले चाँडै नियन्त्रण गरेर कानुन कार्यान्वयन गरेको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने भनेका छन् ।
‘असोज/कार्तिक (अक्टोबार) नेपाल भ्रमण आउने कुल पर्यटकमध्ये आधा यसै बेला आउने सिजन हो,’ टुर तथा ट्राभल कम्पनीहरूको छाता संगठन नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले भने, ‘अहिले होटल, टुर, ट्राभल, एयरलाइन्समा बुकिङ रुद्ध भइरहेको व्यवासायीहरुले भन्दै आइरहनु भएको छ । तर, विदेशमा रहेका पर्यटक नेपालमा आन्दोलनपछि चाँडै शान्ति स्थापना भई सरकार बनेको खबरले चकित छन् । धेरैले नेपाल यात्रा रद्द होइन होल्डमा राखेका छन्। त्यसैले प्रधानमन्त्रीले नेपाल सुरक्षित रहेको सम्बोधन गर्नुपर्ने देखियो । अर्कोतर्फ प्रहरीबाट लुटिएका हतियार सरकारले चाँडै फिर्ता लिएको सन्देश पनि प्रभाव गर्नुपर्ने देखियो ।’
गृह मन्त्रालयका अनुसार, जेन-जीको आन्दोलनपछि कारागारबाट १४ हजार कैदी/बन्दी बाहिर निस्केका थिए । मंगलबारसम्म कम्तीमा ८ हजार कारागारमै फर्किसकेका छन् । त्यस्तै काठमाडौँ लगायत देशभरका प्रहरी कार्यालयबाट १२ सय हाराहारी हतियार नष्ट/गायब भएका थिए । कैदी/बन्दी र हतियारबारे सरकारले चाडै सकारात्मक धारणा सार्वजनिक गरे विश्व पर्यटन बजारमा नेपाल सुरक्षित रहेको सन्देश प्रवाह हुने होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए ।
‘हाम्रा होटल, रेस्टुरेन्ट सुरक्षित छन् । संचालनमा आइसके,’ अध्यक्ष शाहले भने,‘अब विदेशमा रहेका नेपालका कूटनैतिक नियोग, अवैतनिक दूतावास र गैर आवासीय नेपालीहरूले नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरिदिनुपर्छ । हामीले आइतबार प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल र मुख्यसचिव एकनारायण अर्यालसहितको बैठकमा भनिसकेका छौँ ।’
टानका अनुसार, नेपालमा वार्षिक करिब ३ लाख हाराहारी पर्यटक पदयात्राका लागि नेपालका हिमाली र पहाडी क्षेत्रमा हुन्छन् । यीमध्ये अक्टोबर(असोज–कार्तिक) र अप्रिल (चैत/वैशाख) मा झन्डै ७० हजार हाराहारी पदयात्रामा निस्किन्छन् । ‘नेपालमा ब्राह्मै महिना पदयात्रामा कोही न कोही कतै न कतै हिँडेकै हुन्छन् । तर अक्टोबरलाई पदयात्रा व्यवसायीहरूले मुख्य सिजन मान्दछन्,’ टानका अध्यक्ष सागर पाण्डेले भने,‘नेपालमा भएको आन्दोलनपछि हाम्रो सेक्टरका व्यवसायीहरूले ५ देखि १० प्रतिशत असर पर्ने प्रक्षेपण गरेका छन् ।’
नेपालमा सबैभन्दा लोकप्रिय मनाङबाट सुरु भई थोराङ पास भएर मुक्तिनाथ पुगिने अन्नपूर्ण सर्किट र लुक्लाबाट सगरमाथा आधार शिविरसम्मको पदयात्रा रुट विश्वभर प्रख्यात छन् । होटेलतर्फ नेपालभर १ लाख ४२ होटल व्यवसाय छन् । यीमध्ये १ तारादेखि ५ तारासम्मका १ सय ८६ वटा होटल सरकारी तथ्यांकमा देखिन्छन् ।
बाँकी पर्यटकस्तरका ११ सय ३० होटल पोखरा, काठमाडौँ, जोमसोम, लुक्ला लगायतका क्षेत्रमा छन् । आन्दोलनले हिलटन, वर्णबास र ह्यात होटलमा असर पुर्याएको थियो । यी होटेलबाहेक सबै होटल संचालनमा आइसकेको हानले जनाएको छ ।
नेपालमा सर्वाधिक हिमाल आरोहण गराउने सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङमा शेर्पाका अनुसार, हिमाल आरोहणमा केही थोरै बुकिङ स्थगनको खबर आएको छ । ‘मैले गत वर्ष २ सय ५० जना विदेशीलाई सगरमाथा सहितका हिमाल आरोहणको व्यवस्थापन गरेको थिए,’ मिङ्माले भने,‘यस पटक २ सय भन्दा कम नहोला । मुख्य सिजन चैत–वैशाखमा भएकाले त्यस बेला हुने भनिएको आमनिर्वाचनले आरोहणलाई असर नपुर्याउने देखिन्छ । नेपालको पर्यटन ध्वस्तै भइसकेको छैन । हामी आशावादी नै छौँ ।’
प्रधानमन्त्री कार्कीसँगको छलफलमा नाट्टा अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्रलाई विशेष राहत प्याकेज आवश्यक रहेको बताएका थिए । प्रधानमन्त्रीद्वारा आयोजना गरिएको व्यावसायिक तथा पर्यटन क्षेत्रका संघ–संस्थासँगको छलफल कार्यक्रममा उनले यस्तो माग गरेको बताए ।
‘सुरक्षाजन्य चिन्ताले अन्तर्राष्ट्रिय हवाई सेवामा समेत असर पारेको छ । हालै क्याथे प्यासिफिक एयरलाइन्सले सुरक्षा कारण देखाउँदै नेपालमा सेवा स्थगित गरेको छ । यसले यात्रुलाई प्रत्यक्ष मारमा पारेको छ,’ उनले प्रधानमन्त्रीलाई भने, ‘भिसासम्बन्धी कठोर निर्णय तथा कतिपय मुलुकले नेपालविरुद्ध ट्राभल एडभाइजरी जारी गर्न थालेको घटनालाई हामीले गम्भीर रूपमा लिई चाडै समाधानको खोजी गर्नुपर्छ ।’
नाटाले लिखित रूपमै प्रधानमन्त्रीलाई आगामी फागुन २१ गते हुने निर्वाचनले पर्यटन क्षेत्रमा थप असर पार्ने सम्भावनाबारे पनि सजग गराएको छ । नेपाल सुरक्षित छ भन्ने ठोस सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिनुपर्छ,’ अध्यक्ष थपलियाले भने,‘यसरी मात्र नेपालको पर्यटन पुनर्जीवनमा योगदान पुग्छ ।’
गत वर्ष २०२४ मा नेपालमा ११ लाख ४७ हजार विदेशी/पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार, हालसम्म सबैभन्दा धेरै कोरोना सङ्क्रमणअघि सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटक आगमनको आकडामा विश्वभर १ सय ५ औँ स्थानमा पर्छ । नेपालमा सर्वाधिक पर्यटक आउने मुख्य ५ देशमा भारत, संयुक्त राज्य अमेरिका, चीन, बंगलादेश र बेलायत पर्छन् ।
