चारपांग्रेको तुलनामा दुईपांग्रे सवारी साधनको माग र बिक्री बढी, रसुवागढी र तातोपानी नाकाबाट गाडी नआउँदा व्यवसायीले बिक्री गर्न पाएनन्।
काठमाडौँ — चाडबाड नजिकिएसँगै अटोबजार चलायमान बन्दै गएको छ । कम्पनीहरूले चाडपर्व लक्षित विभिन्न स्किम राखेर चार र दुईपांग्रे सवारीसाधन बिक्री गरिरहेका छन् । २४ भदौमा प्रदर्शनकारीबाट भएको तोडफोड र विध्वंसात्मक घटनाले दसैंको मुखमा अटोबजार सुनसान बन्ने अनुमान व्यवसायीहरूको थियो । आन्दोलनकारीले विभिन्न कम्पनीका गाडी, मोटरसाइकलका स्वरुम तोडफोड गरे ।
आगजानी गरेर क्षति पुर्याए । जसले गर्दा व्यवसायी झन् बढी हतोत्साहित हुन पुगे । तर आत्मबल कमजोर नबनाएको उनीहरूको भनाइ छ । बिस्तारै स्थिति सामान्य बन्दै गएको र अटोबजार लयमा फर्किन थालेको व्यवसायीहरूले बताएका छन् ।
अहिले चारपांग्रेको तुलनामा दुईपांग्रे सवारीसाधनको माग र बिक्री बढी छ । रसुवागढी र तातोपानी नाकाबाट गाडी नआउँदा व्यवसायीले बिक्री गर्न पाएका छैनन् । यी नाकाबाट सबैभन्दा धेरै विद्युतीय गाडी भित्रने गर्छन् । अर्डर लिए पनि त्यसअनुसार गाडी उपलब्ध गराउन सकेका छैनन् । दुईपांग्रेको बजार अहिले एकदमै राम्रो रहेको एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक अग्रवाल बताउँछन् ।
‘दुईपांग्रेको बजार राम्रो छ, माग घटेको छैन,’ उनले भने, ‘दसैंमा स्किम राख्ने परिपाटी सबै कम्पनीमा छ, त्यसैले प्रायः सबै कम्पनीले स्किम राखेका छन् ।’ बजारको माग नघटेको उनले सुनाए । ‘चाडबाडमा यामाहा बाइक र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने स्किम छ,’ उनले भने, ‘हरेक साता लक्की ड्रमा नयाँ बाइक जित्ने अफर छ ।’ यामाहाका साधन खरिदमा दैनिक नगद उपहार पनि पाइने उनले सुनाए । हेल्मेट, फ्रि सर्भिस र पार्ट्सहरूमा छुटको व्यवस्था गरिएको कम्पनीले जनायो । ‘विगतका वर्षभन्दा अहिले बिक्री त झन् बढेको छ,’ उनले भने, ‘गत वर्षभन्दा २५ प्रतिशत ग्रोथ छ ।’
२३ र २४ भदौको घटनाक्रम पछि चिन्तित भए पनि आत्मबल कमजोर नबनाएको टीभीएस टुह्वीलरका भाइस प्रेसिडेन्ट दीपक रौनियार बताउँछन् । ‘गत वर्षको तुलनामा ६०/७० प्रतिशत मात्र व्यापार होला भन्ने थियो,’ उनले भने, ‘तर सोचेभन्दा अहिले बजार राम्रो पायौं, गत वर्षभन्दा अहिले करिब ३० प्रतिशत ग्रोथ छ ।’ पुरानोसँग साटेर नयाँ बाइक लिन पाउने सुविधा कम्पनीहरूले ग्राहकलाई उपलब्ध गराएका छन् । जुन टीभीएसमा पनि उपलब्ध छ ।
‘पुराना सवारीसाधन बिक्री गर्न नामसारी गर्नुपर्छ, आन्दोलनका क्रममा यातायात कार्यालयमा भएको ढड्डा जलाइएको छ,’ उनले भने, ‘तर नामसारी गर्ने धनीको ब्लु बुक सँगै छ, ढड्डा जले पनि भोलि यातायात कार्यालयमा पेस गर्न मिल्ने कागजात जुटाएर नयाँ–पुराना सवारीसाधन साट्ने काम कम्पनीहरूले गरेका छन् ।’ यसमा प्रमाण राखेर काम गरिरहेको उनले बताए । यातायात कार्यालय सहज रूपमा चलेपछि प्रक्रियाअनुसार नामसारीको प्रमाणसहित उपलब्ध गराइने उनले सुनाए ।
‘सुरुमा आन्दोलनका दृश्य देखेर त हामी निराश भइसकेका थियौं,’ उनले भने, ‘अहिले आशा जागेको छ, बजार सोचेभन्दा राम्रो छ, तर बाटोघाटोको अवस्थाले गर्दा सर्वसाधारणले यात्रामा सास्ती खेप्नु परिरहेको छ ।’ टीभीएसका मोटरसाइकल होस् वा स्कुटर, खरिदमा एक लाख रुपैयाँसम्म स्क्र्याच कुपनबाट नगद उपहार पाइनेछ । किन्नसाथ १० हजार रुपैयाँ नगद छुट पाइने कम्पनीले जनायो ।
दुईपांग्रे सवारीसाधनको बजार राम्रो रहेको हिरो सीजी मोटर्सको मार्केटिङ हेड बिक्रम पौडेलले बताए । ‘गत वर्षको तुलनामा माग र बिक्री घट्दो क्रममा होइन, बढ्दो क्रममा छ,’ उनले भने, ‘आन्दोलनले व्यवसायीको आत्मबल खस्किने हो कि भन्ने डर थियो, त्यस्तो भएन, बजार र व्यवसायी सकारात्मक नै देखिएका छन् ।’ सबै ब्रान्डमा गत वर्षको तुलनामा बिक्रीदर बढेको उनले सुनाए । हिरोको नयाँ प्रडक्टका रूपमा जुमा– १२५ को स्कुटर आएकाले र यसले माग बढाउन सहयोग गर्ने उनी बताउँछन् ।
‘एउटा उपभोक्ताले पाउने चाहे नगद छुट होस् वा चाहे फाइनान्सिङ होस्, एक्सचेन्ज नै किन नहोस्,’ उनले भने, ‘यो सुविधा प्रायः सबै ब्रान्डमा उपलब्ध छन् ।’ घटस्थापनाबाटै दुईपांग्रे सवारीको बिक्री राम्रो भएको उनले सुनाए । चारपांग्रेको तुलनामा दुईपांग्रेको बजार र बिक्री राम्रो रहेको उनको बुझाइ छ । अन्य विभिन्न कम्पनीका ब्रान्डमा छुट अफर छ भने बिक्री पनि त्यहीअनुसार भइरहेको छ ।
अहिले अटोबजार चलायमान रहेको नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए । ‘अहिले रसुवागढी नाका ठप्प हुँदा र तातोपानी नाकाको सडक राम्रोसँग नचल्दा समस्या भइरहेको छ,’ उनले भने, ‘यी नाकाबाट चापांग्रे विद्युतीय गाडी धेरै आउने गर्थे, अहिले यसको विकल्पमा कोरला नाकाबाट गाडीहरू आइरहेका छन् ।’ चार र दुईपांग्रे सवारीसाधनको बजार राम्रो रहेको उनले बताए । ‘दसैंका लागि आएका गाडीलाई मौज्दात राख्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘विद्युतीय र पेट्रोलियम गाडी दुवैको माग र बिक्री राम्रो छ ।’ आन्दोलन भइरहँदा बजार के होला र कसो होला भन्ने डर भए पनि अहिले त्यो त्रासबाट मुक्त भइसकेको उनले बताए ।
आन्दोलनको प्रभाव अटोबजारमा पनि परेको नेपाल अटोमोबाइल इम्पोर्टस् एन्ड म्यानुफ्यार्क्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् । ‘चाडबाडको मुखमा यस्तो घटना हुँदा अटोबजारमा पक्कै पनि असर गरेको छ,’ उनले भनिन्, ‘अटो क्षेत्र लक्जरी होइन, आवश्यकता पनि हो ।’ निजी क्षेत्र धेरै आँटिलो भएकाले छिटै नै पहिलाकै अवस्थामा आउने उनले आत्मविश्वास प्रकट गरिन् । ‘अटोबजारमा आममानिसको आवश्यकताअनुसारकै सवारीसाधनको माग छ, आन्दोलनपछि बजारको गति केही सुस्त छ,’ उनले भनिन्, ‘अहिले दसैंको मुख छ, त्यसैले बजार सुधार हुँदै जाने छ ।’
