दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाइका कारण मन्त्री घिसिङले निर्माणमा संलग्न सबै पक्षसँग छलफल गरेका थिए।
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी–मरिण र भेरी–बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन्।
मंगलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री घिसिङले आयोजनाका ठेक्का तोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन्।
दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाइका कारण मन्त्री घिसिङले निर्माणमा संलग्न सबै पक्षसँग छलफल गरेका थिए। तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व वृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने यी आयोजनामा भइरहेको ढिलाइले प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गरे।
‘एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको देखिन्छ, निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने, आयोजना त्यस्तो वातावरण दिइराख्ने— यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ ? राज्यको अर्बौँ रुपैयाँ लगानी भइसकेको छ, ब्याजको मात्र हिसाब गर्ने हो भने अर्बौँ हुन्छ। आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो ? प्रतिफलको अवस्था के भयो ?’ भन्दै उनले चेतावनी दिए।
उनले थपे, ‘दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेका छन्। तर बाँध, विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका छन्। तराई–मधेसमा सिँचाइका लागि पानीको हाहाकार छ। यस्तो अवस्थामा आयोजना चल्न सक्दैनन्। निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो। काम गर्ने नियत देखिँदैन। त्यसर्थ म्याद थप्नुको औचित्य छैन। सबै ठेक्का तोडी नयाँ ढङ्गले अगाडि बढौँ।’
भेरी–बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको हो। बाँध तथा विद्युतगृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान–रमण जेभीसँग ठेक्का सम्झौता भएको थियो। आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ। सुनकोशी–मरिणमा बाँध, विद्युतगृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत मात्र छ भने ठेक्का अवधि करिब ६० प्रतिशत सकिएको छ। यस आयोजनाको निर्माण व्यवसायी पटेल–रमण जेभी हो।
