अनुदानको पखाईमा उखु किसान 

दसैं अगाडि नै उखु किसानको अनुदान उपलब्ध गराउन माग 

आश्विन ७, २०८२

नवीन पौडेल

Sugarcane farmers on subsidy

परासी — उखु किसानले सरकारले अनुदानबापतको रकम दसैं अगाडि नै पाउनु पर्ने माग गरेका छन् । किसान आन्दोलनको क्रममा दसैं अगाडि नै अनुदान रकम प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेको सरकारले अहिलेसम्म अनुदान रकम वितरण नगरेको भन्दै किसान चिन्तित बनेका छन् । 

उखु उत्पादक महासंघका केन्द्रीय प्रवक्ता एवम् प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै दसैं अगाडि नै सम्झौताअनुसार अनुदान रकम प्राप्त नभएमा दसैंलगत्तै सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् । यसअघि भदौ ८ देखि १३ गते सम्म काठमाण्डौ केन्द्रित आन्दोलन र त्यसपछि सडक संघर्षमा उत्रिएका किसानलाई सरकारले तत्कालै अनुदान रकम दिने आश्वासन दिएको थियो । 

उद्योगीले पाँच सय ८५ रुपैयाँ  प्रतिक्विन्टल र सरकारले ७० रुपैयाँ अनुदान गरेर प्रतिक्विन्टल ६ सय ५५ रुपैयाँ मूल्य तोकिएको थियो । किसानले यो वर्ष उखु काटेर उद्योगलाई बिक्री गरेर अनुदानको पर्खाइमा रहेको समयमा सरकारले भने अनुदान रकम कटौती गरेको छ । 

मुलुकभरमा किसानले आर्थिक वर्ष २०८१/८२ को १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । चालु आर्थिक वर्षमा सरकारले अनुदान रकम नै उल्लेख नगरेपछि किसान आन्दोलित भएका हुन् । तत्काल अनुदान रकम सुनिश्चित नगरेमा चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिँदै आए पनि सरकारले सुनुवाइ गरेको छैन ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully