साना बिमा दाबीको भुक्तानी तिहारसम्म र ठूलालाई पेस्की : बिमक संघ  

आइतबारसम्म बिमा कम्पनीहरुमा कुल २ हजार ४ सय ४८ वटा दाबी परेका छन् । तीमध्ये करिब १ हजार ७ सय दाबी साना प्रकृति (दुई करोडभन्दा कमका) रहेका छन् ।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

Payment of small insurance claims till Tihar and big ones by: Bimak Sangh

काठमाडौँ — गत भदौ २३ र २४ को प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिमा परेको बिमा दाबीमध्ये साना प्रकृतिका सबै दाबी तिहारसम्म भुक्तानी दिइसक्ने नेपाल बिमक संघले जनाएको छ ।

आइतबारसम्म बिमा कम्पनीहरुमा कुल २ हजार ४ सय ४८ वटा दाबी परेका छन् । तीमध्ये करिब १ हजार ७ सय दाबी साना प्रकृति (दुई करोडभन्दा कमका) रहेको र तिनको भुक्तानी आउँदो तिहारसम्म गरिसक्ने आफूहरुको तयारी रहेको नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बैदवार क्षेत्रीले बताए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानका लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले आन्दोलनमा भएको क्षतिको करिब १२/१३ प्रतिशत मात्र बिमा भएको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघले करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको उल्लेख गर्दै उनले भने, ‘त्यो क्षतिको २०/२५ प्रतिशत मात्र बिमा भएको देखिन्छ । त्यसमध्ये एक दुई वटा ठूला दाबी हटाउने हो भने करिब १२/१३ प्रतिशतमा मात्र बिमा पहुँच पुगेको छ ।’ सरकारी संरचनाको बिमा नै नभएको र धेरै निजी संरचना पनि बिमाको पहुँचभन्दा टाढा रहेकाले आफूहरुको अनुमानभन्दा धेरै कम मात्र बिमा दाबी परेको उनले बताए । 

आइतबारसम्म बिमा कम्पनीहरुमा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ । सो अवधिमा कुल २ हजार ४ सय ४८ वटा दाबी परेका छन् । तीमध्ये ५४ प्रतिशत अथवा १ हजार ३ सय ४३ वटा दाबी बागमती प्रदेशबाट परेका छन् । दोस्रो धेरै ३२२ वटा दाबी कोशी प्रदेशमा परेका छन् भने तेस्रो मधेश प्रदेशमा २४६ वटा दाबी परेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २०२ वटा, गण्डकीमा १८४, सुदूरपश्चिममा १५९ र कर्णाली प्रदेशमा २२ वटा बिमा दाबी परेको बिमा प्राधिकरणले जनाएको छ । 

यद्यपि अहिलेको दाबी हालसम्मकै सबैभन्दा धेरै भएको पनि उनले बताए । यसअघि ०७२ सालको भूकम्पमा १७ अर्ब र अघिल्लो वर्षको असोजमा आएको बाढीमा करिब १३ अर्बको बिमा दाबी परेको थियो ।

कान्तिपुर

Link copied successfully