बैठकमा भारत सरकारबाट हालै परिवर्तन भएको जीएसटीको दरले नेपालको समग्र राजस्व प्रणालीमा पर्न सक्ने प्रभावका विषयमा छलफल भएको थियो ।
काठमाडौँ — राजनीतिक दबाबमुक्त राम्रोसँग काम गर्न र राजस्व चुहावटलाई नियन्त्रण गर्न अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्थमन्त्रीको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा खनालले उक्त निर्देशन दिएका हुन् ।
‘सुरक्षा निकायको मनोबल उच्च राख सरकार लागिरहेको, सदाचारयुक्त वातावरणको निर्माण, राजस्व प्रणालीमा संरचनागत सुधार, राजनीतिक दबाबमुक्त भई कार्य गर्नुहोस्,’ उनले भने, ‘राजस्व चुहावट नियन्त्रणको लागि राजस्व अनुसन्धान विभागमा सूचना संयन्त्रको निर्माण गर्नुहोस् ।’
कार्यक्रम अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको प्रस्तुतिबाट सुरू भएको थियो । बैठकमा भारत सरकारबाट हालै परिवर्तन भएको जीएसटीको दरले नेपालको समग्र राजस्व प्रणालीमा पर्न सक्ने प्रभावका विषयमा छलफल भएको थियो ।
कर छली एवम् राजस्व चुहावट नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्र बनाउने विषयमा छलफल भई बद्लिँदो परिस्थितिमा राजस्व चुहावट नियन्त्रणका लागि सबैको सामूहिक प्रयास र इमान्दारिताको खाँचो रहेको महसुस गरी त्यसका लागि बैठकमा उपस्थित सरोकारवाला निकायका पदाधिकारीहरुले सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृहसचिव, अर्थ सचिव, राजस्व सचिव, महानिरीक्षक नेपाल प्रहरी, महानिरीक्षक सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान अधिकृत राष्ट्रिय अनुसन्धान विभाग, महानिर्देशक–भन्सार विभाग, महानिर्देशक–आन्तरिक राजस्व विभाग, महानिर्देशक राजस्व अनुसन्धान विभाग, महानिर्देशक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतको उपस्थिति रहेको थियो ।
