५८ कोठा रहेको होटलमा एक प्रेसिडेन्सियल, तीन सुइट, १० वटा सुपर डिलक्स, १५ वटा प्रिमियम र बााकी स्ट्यान्डर्ड रुम
चितवन — भरतपुरमा तयार भएको चितवन बिजिनेस कम्प्लेक्स (सीबीसी) को ११ तले भवनमा होटल र सपिङ सेन्टर सञ्चालनमा आएको छ । सीबीसीले अमेरिका, भारत र नेपालमा चेन होटल सञ्चालन गरेको र लड्स हस्पिटालिटीको सहकार्यमा ५८ कोठा रहेको होटल सुरु गरेको हो । सोही भवनमा सेल्सबेरीको ३८औं शाखाका रूपमा चितवन बिजिनेस मार्ट सञ्चालनमा आएको छ ।
एक लाख सात हजार वर्गफिटमा फैलिएको सीबीसीको दुई तला अन्डरग्राउन्डसहित ११ तले भवन छ । अन्डरग्राउन्डका दुई तला पार्किङका लागि प्रयोगमा आउनेछन् । त्यसैगरी तीन तलामा सेल्सबेरीको मार्ट रहनेछ । माथिल्ला ६ वटा तला होटलको हुनेछ । होटलमा एक प्रेसिडेन्सियल, तीन सुइट, १० वटा सुपर डिलक्स, १५ वटा प्रिमियम र बाँकी स्ट्यान्डर्ड रुम रहेको सीबीसीका अध्यक्ष दिनुप बरालले जनाए । कोठाको दर ५ हजार ५ सयदेखि २४ हजार रुपैयाँसम्म रहेको उनले बताए । ‘अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य भएकाले विदेशी पर्यटक पनि हाम्रा ग्राहक हुन् । स्थानीय र स्वदेशी पनि हाम्रो प्राथमिकतामा रहनेछन्,’ बरालले भने ।
होटलमा पाँच सय जना अट्ने सभाहल, एक सय क्षमताको कन्फ्रेन्स हलका साथै ३० जना अट्ने तीन बैठक कक्ष पनि छन् । बाहिर–भित्र गरेर एकै पटकमा एक सय २५ जनालाई सेवा दिन सक्ने रेस्टुराँ छ । माथिल्लो तलामा स्विमिङ पुल पनि छ । भरतपुर विमानस्थलको अगाडि रहेको सीबीसीबाट सहर र उत्तरतर्फका हरिया पहाड तथा आकाश खुल्दा हिमाल देख्न सकिन्छ ।
सेल्सबेरीमा ग्रोसरी, हाउसवेयर, इलेक्ट्रोनिक्स, कस्मेटिक, मदिरालगायत घरायसी सामग्री उपलब्ध हुने बरालले बताए । कपडा र फर्निचर पनि निकट भविष्यमै उपलब्ध हुने उनको भनाइ छ । दुई तलाको पार्किङ एरियामा चारपांग्रे साना गाडी ८० र २ सय वटा मोटरसाइकल अटाउँछन् । ‘होटलमा सन् २०२५ सम्मका लागि २५ प्रतिशत छुटको व्यवस्था छ । त्यसैगरी सेल्सबेरीमा किनमेल गर्दा दसैं–तिहारमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ,’ अध्यक्ष बरालले भने ।
सीबीसीको भवन र होटलमा १ अर्ब ६० करोड रुपैयाँ र सेल्सबेरीमा थप २५ करोड रुपैयाँ लगानी भएको दिनुपले जनाए । सीबीसीमा तत्काल सय जना र पूर्ण रूपमा सञ्चालनमा आउँदा एक सय ५० जनाले रोजगारी पाउनेछन् । चितवनका १८ जनाले लक्ष्मी सनराइज बैंकसँग सहकार्य गरेर लगानी जुटाएका हुन् ।
‘चितवन देशको केन्द्र हो र नेपालको प्रमुखमध्येको पर्यटकीय क्षेत्र पनि हो । स्तरीय होटल यहाँको आवश्यकता नै हो । त्यसैगरी सहरीकरण पनि तीव्र गतिमा भएको ठाउँ भएका कारणले सपिङ कल्चर पनि आधुनिक हुँदै गएको छ । यही सम्भावना देखेर राम्रो पूर्वाधारसहितको होटल र सपिङ मल एउटै ठाउँबाट सञ्चालनमा ल्याएका हौं,’ अध्यक्ष बरालले भने ।
कोरोनाका समयमा जग्गा किनेर भवन बनाउने शिलान्यास गरिएको थियो । सञ्चालनमा आउँदा पनि पछिल्ला घटनाक्रमले व्यवसाय क्षेत्रमा संशय बढाएको छ । ‘अवस्था सधैं नै अनुकूल छ भन्ने हुँदैन । नयाँ काम गर्न जस्तोसुकै अवस्थामा पनि आँट गर्नुपर्छ । हामीहरू त्यही आँट राखेर आएका हौं,’ अध्यक्ष बरालले भने ।
