पर्यटकका लागि नेपालमै विश्वसनीय पर्यटन बिमा सुरु

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीको पहलमा स्थापित हिमालयन गार्डियनले सांस्कृतिक भ्रमण, साहसिक पदयात्रा र हिमाल आरोहणमा जाने पर्यटकलाई लक्ष्य गरिएको छ ।

आश्विन ६, २०८२

कान्तिपुर संवाददाता

Reliable tourism insurance started in Nepal for tourists

काठमाडौँ — हिमालयन गार्डियन नेपालले विदेशी पर्यटकका लागि नेपालमै उपलब्ध हुने विश्वकै सस्तो बिमा योजना सार्वजनिक गरेको छ । यसले नेपालको पर्यटन सुरक्षामा नयाँ अध्याय सुरु गराएको बताइएको छ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीको पहलमा स्थापना भएको हिमालयन गार्डियनले यस्तो योजना ल्याएको हो ।

यो योजना विशेषगरी सांस्कृतिक भ्रमण, साहसिक पदयात्रा र हिमाल आरोहणमा संलग्न हुने पर्यटकलाई लक्ष्य गरिएको छ । परम्परागत रूपमा यात्रुहरूले आफ्नै मुलुकमा महँगो बिमा लिनुपर्ने बाध्यता रहेकामा यस कम्पनीले नेपालमै सजिलो, सस्तो र प्रविधिसम्पन्न बिमा सेवा उपलब्ध गराएको जनाइएको छ ।

कम्पनीले पर्यटकको आवश्यकताअनुसार तीन तहका बिमा योजना ल्याएको छ । सांस्कृतिक भ्रमण र अवकाश यात्रा (३ हजार ५ सय मिटरसम्म) १४ दिनका लागि प्रतिव्यक्ति १६ अमेरिकी डलरको छ । पदयात्रा (५,५ सय मिटरसम्म) १४ दिनको बिमा प्रतिव्यक्ति १ सय ५० अमेरिकी डलर र हिमाल आरोहण (६ हजार मिटरसम्म) ६० दिनसम्म मान्य बिमा प्रतिव्यक्ति पाँच सय अमेरिकी डलरको छ ।

यी बिमा योजना नेपालका दर्ता भएका ट्रेकिङ तथा पर्यटन एजेन्सीमार्फत मात्र खरिद गर्न सकिनेछ । सरकारले पदयात्रा र आरोहण गतिविधिमा दर्ता गाइड र एजेन्सी अनिवार्य गरेको भएकाले यात्रुहरूले आफ्ना एजेन्सीमार्फत बिमा सहजै लिन सक्ने व्यवस्था मिलाइएको छ । एजेन्सीहरूले अग्रिम भुक्तानी गर्नुपर्ने भएकाले बिमा शुल्कमा १०–१५ प्रतिशत सेवा शुल्क थप हुन सक्ने बताइएको छ ।

प्रत्येक बिमासँगै स्याटेलाइट–जडित विशेष उपकरण उपलब्ध गराइनेछ, जसमा एसओएस बटन राखिएको छ । आपत्कालीन अवस्थामा यात्रुले बटन थिच्नेबित्तिकै बिमा कम्पनीको प्लेटफर्ममार्फत नेपालका बिमा कम्पनी, उद्धार सेवाप्रदायक र चिकित्सकहरूसँग प्रत्यक्ष सम्पर्क हुन्छ । ‘हाम्रो लक्ष्य केवल बिमा बेच्नु होइन, संकटमा पर्यटकको जीवन रक्षामा तत्काल प्रतिक्रिया दिनु हो,’ संस्थापक डा. रेग्मीले भने, ‘यो प्रणालीमार्फत हेलिकोप्टर, शेर्पा वा चिकित्सक तुरुन्तै पीडितको ठ्याक्कै स्थानमा पुग्ने व्यवस्था मिलाइएको छ ।’

पर्यटन क्षेत्रमा पछिल्ला वर्षमा बढ्दो समस्या बनेको नक्कली उद्धार र अस्पतालमा हुने अत्यधिक बिलिङ जस्ता अभ्यासलाई यस बिमा प्रणालीले अन्त्य गर्ने विश्वास लिइएको छ । यसले नेपाललाई अझ सुरक्षित र भरपर्दो गन्तव्यका रूपमा विश्वसामु प्रस्तुत गर्न मद्दत गर्ने बताइएको छ । ‘सस्तो बिमा, पारदर्शी प्रक्रिया र तत्काल उद्धार प्रणालीले अन्तर्राष्ट्रिय पर्यटकको विश्वास पुनःस्थापित गर्नेछ,’ रेग्मीले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully