दुई सातामा उठ्यो ६१ करोड २४ लाख राजस्व, घटस्थापनाका दिन मात्र भित्रिए ३ सय ४३ विद्युतीय गाडी
काठमाडौँ — रसुवागढी र तातोपानी नाका ठप्प बनेपछि मुस्ताङको कोरला नाकाबाट दसैंका लागि तयारी सामान र विद्युतीय गाडी धमाधम भित्रिरहेका छन् ।
सोमबारसम्म कोरला नाकामा ३ सय ४३ विद्युतीय गाडी भित्रिए । तीमध्ये २ सय ३० वटाको भन्सार जाँचपास भइसकेको छ ।
तयारी सामान लिएर नेपाल आइपुगेका १ सय ४२ मध्ये १ सय ४ वटा कन्टेनरको जाँचपास सकिएको छ । दसैंका लागि सामान लिन चीन गएका ६० वटा कन्टेनर लोड भएर बसेको र केही दिनमै नेपाल आइपुग्ने मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत रमेश खड्काले बताए ।
गत भदौ २१ देखि यो नाका सञ्चालनमा आएको हो । चीनको लिजीसम्म चीनकै कन्टेनरले सामान ल्याउँछन् । त्यसपछि नेपालबाट गएका कन्टेनरले त्यहाँबाट सामान लोड गरेर मुस्ताङको कोरालासम्म ल्याउँछन् । ‘अहिले दसैंका लागि तयारी कपडा आएका छन्,’ उनले भने, ‘जाडोका कपडा ज्याकेट र स्विटर पनि आइरहेका छन् ।’
विशेषगरी यस नाकाबाट चाडबाडका लागि विद्युतीय सवारी भित्रिरहेका छन् । ‘तर चार्जिङ स्टेसन नहुँदा समस्या भएको छ,’ खड्काले भने, ‘चराङमा ओमोडाले जेको ब्रान्डका गाडीका लागि चार्जिङ स्टेसन राखेको छ, बीवाईडी गाडीका लागि भने पोखराबाट जेनेरेटर ल्याएर चार्ज गरेर लग्ने व्यवस्था गरिएको छ ।’
तातोपानी र रसुवागढी नाका नचल्दाको विकल्प कोरला नाका बनेको छ । उताका नाका खुलेपछि यो नाका कमै चल्ने भन्सार कार्यालयको भनाइ छ । चीनसम्म सामान लिन मुस्ताङका चालक मात्र जान पाउँछन् । ‘नाका कोरलामै हो, यहाँबाट चीनको लिजी ५ सय मिटर दूरीमा पर्छ,’ खड्काले भने, ‘भन्सार कार्यालय भने नेचुङमा छ, जुन ठाउँ ३ हजार ९ सय मिटर उचाइमा पर्छ, त्यहाँसम्म कन्टेनर लगेर सीमासम्म ल्याएको शुल्क मुस्ताङका चालकले ८ हजार रुपैयाँ लिन्छन् ।’ यहाँबाट कोरला नाका १४ किलोमिटर दूरीमा छ, जुन ४ हजार ६ मिटर उचाइमा पर्छ ।
‘व्यवसायीले ल्हासा र केरुङमा भएका सामान यही नाका भएर मगाउन खोजेका थिए, चिनियाँ पक्षसँग राम्रो समन्वय नहुँदा समस्या भएको छ,’ खड्काले भने, ‘लोड भएका गाडीसमेत समयमै नपठाइदिँदा समस्या छ ।’ यो नाका सञ्चालनमा आएयता ६१ करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । नेपालबाट सामान लिन गएका कन्टेनर हाई अल्टिच्युटका कारण स्टार्ट रोकिई बीचमै अलपत्र हुने समस्या रहेको खड्काले जनाए ।
असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने पक्की पुल बगाएसँगै रसुवागढी नाका ठप्प छ । भन्सार कार्यालय टिमुरेबाट रसुवागढी नाकासम्म पुग्ने सडक अझै अवरुद्ध रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए । उनका अनुसार असार २४ देखि यो नाका सञ्चालनमा छैन ।
‘दसैं–तिहारमा चीनबाट लत्ताकपडा र फलफूल धेरै आउँथ्यो, सबैभन्दा बढी विद्युतीय गाडी पनि रसुवागढी नाकाबाट भित्रिन्थे,’ भट्टराईले भने, ‘धेरै राजस्व पनि दसैं–तिहारमै उठ्ने गर्थ्यो, अहिले नाका ठप्प छ, राजस्व संकलन शून्य छ ।’ अहिले नाका जोड्ने ‘बेलिब्रिज’ निर्माणको क्रममा छ । बेलाबेलामा ल्हेन्दे खोलामा आइरहने बाढीका कारण भने समस्या गरीरहेको उनको भनाइ छ । ‘तिहारसम्म पुल बन्छ कि भन्ने छ,’ उनले भने, ‘चिनियाँ पक्षले पुल निर्माणका लागि नेपालतर्फ आएर फाउन्डेसनको काम सुरु भइरहेको छ ।’
चालु आर्थिक वर्षमा रसुवागढी भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य ४० अर्ब १६ करोड रुपैयाँ राखेको छ । साउन र भदौमा राजस्व संकलनको लक्ष्य ७ अर्ब रुपैयाँ थियो । यी दुई महिनामा केही पनि उठेको छैन । असोजमा मात्र राजस्व संकलनको लक्ष्य साढे ३ अर्ब रुपैयाँ छ । चालु आर्थिक वर्षको तिहारपछि नियमित रूपमा नाका खुलेर सामान आए पनि वर्षभर राखिएको कुल लक्ष्यमा १२ अर्ब कम राजस्व संकलन हुने प्रमुख भट्टराईको भनाइ छ ।
यता अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा गत साउन १७ मा पहिरो गएसँगै तातोपानी नाका पनि सञ्चालनमा आउन सकेको छैन । दसैं नजिकिँदै गर्दा तातोपानी नाका सुनसान छ । यो नाका भएर दसैंमा तयारी सामानसँगै स्याउलगायतका फलफूल भित्रिने गर्छन् ।
चाडबाडका बेला अघिपछि भित्रिनेभन्दा कन्टेनरको संख्या बढी हुन्छ । सडक सञ्चालनमा आएपछि नाका सुरु हुने तातोपानी भन्सार कार्यालय, लार्चाका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले जनाए । ‘सडक चल्नेबित्तिकै चीनतर्फ लोड भएका कन्टेनर आएर खाली गरेर जानुभन्दा यतैका खाली कन्टेनर चीन पठाउने तयारीमा छौं,’ उनले भने । सोमबार साँझबाट सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय दोलखाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
‘कोदारी खण्डमा पहिरो खसेर समस्या भएको थियो,’ उनले भने, ‘पर्याप्त जनशक्ति र मेसिन परिचालन गरेर सडक खुलाएका छौं ।’ तर ठूलो पानी परे पहिरोको समस्या भने टरेको छैन । दैनिक ठूला कन्टेनर ओहोरदोहोर गर्ने सडकमा पहिरोको जोखिम भने कायमै छ । अहिले चाडबाडलाई हेरेर सडक सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।
उता चीनतर्फ अनुमानित करिब ३ सय कन्टेनर छन् । चालु आर्थिक वर्षमा तातोपानी भन्सार कार्यालयको राजस्व संकलनको लक्ष्य २४ अर्ब ४७ करोड रुपैयाँ छ । नयाँ आर्थिक वर्ष सुरु भएयता नै नाका ठप्प छ ।
