चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन मन्त्री घिसिङले निर्देशन दिएका छन् ।
काठमाडौँ — सूर्यविनायक–धुलिखेलदेखि खावासम्मको सडकको अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाड पर्वमा सहज बनाउन निर्देशन दिएका छन् । उक्त सडकको अनुगमन गर्दै निर्माण प्रगतिबारे मन्त्री घिसिङले जानकारी लिएका हुन् ।
अनुगमनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैसी, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छलफल गरेका थिए ।
छलफलमा चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन मन्त्री घिसिङले निर्देशन दिए । आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषयहरू भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई पूर्ण रूपमा अघि बढाउन तथा चालु आर्थिक वर्षभित्र नै सडक विस्तार सम्पन्न गर्न मन्त्री घिसिङले आग्रह गरे ।
सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगा सम्मको ८.३ किलोमिटर खण्डमा ३९ प्रतिशत र साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा ५१ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ । समग्र आयोजनाको निर्माण प्रगति भने अहिलेसम्म ४५ प्रतिशत छ ।
टेवा पर्खाल तथा नाली निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । धुलिखेलमा १ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ । तर, सडक सीमा विवाद, घर–टहरा हटाउने समस्या, बजेटको अभाव लगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको आयोजनाले जनायो ।
बजेट अभाव हुन नदिन आवश्यक पहल गर्नेबारे मन्त्री घिसिङले आश्वस्त पारे । सडक विभागका महानिर्देशक जैसीका अनुसार आयोजनाका लागि चालु आर्थिक वर्षमा करिब ३ अर्ब बजेट आवश्यक पर्नेमा ५० करोड मात्र विनियोजन गरिएको छ ।
