राहत कोष खडा गर्न कार्यविधि बन्दै

सहरी विकास मन्त्रालयको पदबहालीका क्रममा मन्त्री कुलमान घिसिङले क्षति भएका संरचना निर्माणका लागि ‘क्राउड फन्ड’ स्थापना गर्ने पहिलो निर्णय नै यही गरेका थिए ।

आश्विन ६, २०८२

विमल खतिवडा

A procedure is being prepared to raise a relief fund

काठमाडौँ — २३ र २४ भदौको प्रदर्शनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माणका लागि छुट्टै कोष खडा गरिने भएको छ । सहरी विकास मन्त्रालयको पदबहालीका क्रममा मन्त्री कुलमान घिसिङले क्षति भएका संरचना निर्माणका लागि ‘क्राउड फन्ड’ स्थापना गर्ने पहिलो निर्णय नै यही गरेका थिए ।

यसै सन्दर्भमा अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेको छ । आगामी मन्त्रिपरिषद्मा लग्ने गरी कार्यविधि बनिरहेको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार कार्यविधिमा सार्वजनिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतसमेतका विषय समेट्न खोजिएको छ । कार्यविधिलाई अन्तिम रूप दिने काम भइरहेको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

‘कार्यविधि बन्दै छ,’ पाण्डेयले भने, ‘स्रोत कहाँबाट कसरी जुटाउने भन्ने विषय पनि उल्लेख हुनेछ ।’ विभिन्न व्यक्ति, संस्थाले पुनर्निर्माणका लागि भन्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रकम बुझाइरहेका छन् ।

केहीले सामाजिक सञ्जालमार्फत सहयोग रकम घोषणा गरिरहेका छन् । अहिलेसम्म सरकारी संयन्त्रबाट पैसा जम्मा गर्ने आधिकारिक कोष बनिनसकेकाले सहयोग गर्न चाहनेहरू अन्योलमा छन् । आगजानी र तोडफोडबाट सार्वजनिक भवनमा ठूलो क्षति पुगेको छ । सबैभन्दा ठूलो क्षति सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, मन्त्री आवास, सडक विभाग, प्रहरी चौकीलगायतमा भएको छ ।

निर्माण व्यवसायीले निर्माण गरेर हस्तान्तरण गरिसकेका नयाँ भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ । भवन पूर्वाधारमा धेरै ठूलो क्षति भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘स्थानीय तहदेखि संघसम्मका भवन संरचनामा ठूलो क्षति छ,’ उनले भने, ‘प्रहरीका भवनहरूमा बढी क्षति छ, सबै गरेर हाम्रो अनुमान १ खर्बभन्दा बढीको क्षति भएको छ ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully