कोरला नाकाबाट धमाधम भित्रिँदै विद्युतीय गाडी, ६ दिनमै ३४ करोड राजस्व संकलन

तातोपानी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध भएपछि सरकारले मुस्ताङ नाका पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो ।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

Electric vehicles coming in from Korla crossing, collecting 34 crores revenue in 6 days

काठमाडौँ — सरकारले मुस्ताङ भन्सार कार्यालय सञ्चालनमा ल्याएको ६ दिनमै सो मार्ग हुँदै २ सय ९ वटा विद्युतीय सवारी साधन र १ सय ७ वटा मालवाहक ढुवानी सवारी साधन भित्रिएका छन् । सो अवधिमा सो भन्सारबाट करिब साढे ३४ करोड रुपैयाँ राजस्व पनि संकलन भएको छ । 

०८२ असार २४ गते रसुवा जिल्लास्थित ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द भएको छ । तातोपानी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध भएपछि सरकारले मुस्ताङ नाका पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो ।  

चीन र नेपालबीचको वैदेशिक व्यपारलाई सहजीकरण गर्न भन्दै  मुस्ताङ भन्सार कार्यालय,नेचुङ (कोरला नाका) भदौ ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।

‘०८२ असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधनमा रहेका मालवस्तु जाँचपास गरी ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ,’ अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भने ।

हाल यस नाकामा आशिकुडा प्रणालीसमेत सञ्चालन भइसकेको र नेपाल राष्ट्र बैंकको मिति २०८२ भदौ ३१ को परिपत्रअनुसार मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र–२०८१ मा समावेश गरी सहजीकरण गरिसकिएको छ ।

कान्तिपुर

Link copied successfully