कृष्णनगर बजार भारतको 'गेट वे अफ इन्डिया'का रूपमा विकास हुने

उत्तर प्रदेश सरकारको लोक निर्माण विभागले ३५ करोड २५ लाख लागतमा सडक र उत्तर प्रदेश सेतु निर्माण निगमले १ अर्ब ९ करोड ६५ लाख भारु लागतमा ओभर ब्रिज निर्माण गर्न लागेका हुन् ।

आश्विन ४, २०८२

मनोज पौडेल

Krishnanagar Bazar will be developed as the 'Gateway of India'

बढनी, भारत — भारतीय लोकसभा सदस्य जगदम्बिका पालले सीमावर्ती बढनी बजार नेपालका लागि 'गेट वे अफ इन्डिया'का रूपमा विकास भइरहेको बताएका छन् । मुम्बई अरब सागरका लागि 'गेट वे अफ इन्डिया' भएजस्तै नेपालका लागि बढनी बजार सोही रूपमा विकास हुने कामको सुरुवात भएको उनले बताए ।

करिब डेढ अर्ब भारुको लागतमा बढनी बजारमा निर्माण थालिएको फोर लेन पक्की सडक र ओभर ब्रिज पुल निर्माणको शुभारम्भ गर्दै उनले अब भारतको बढनी बजार र नेपालको कृष्णनगर बजारले आर्थिक रूपमा फड्को मार्ने पनि बताए । 

नेपाल–भारत सीमा जोडिएको करिब १ हजार ८ सय किमि सीमामा बढनीमात्र यस्तो बजार हो, जहाँ अत्याधुनिक फोर लेन सडकसहित ओभर ब्रिज निर्माण हुन थालेको छ । ‘सीमाको अन्य कुनै पनि बजारमा यस्तो संरचना बनेको छैन,’ उनले भने । त्यसैले भारत सरकारकै प्राथमिकतामा यो परेको छ । 

भारतको राष्ट्रिय रेल नेटवर्कसँग जोडिएको नेपालको सबैभन्दा नजिकको बजार हो कृष्णनगर । यहाँदेखि सय मिटरमै भारतको राष्ट्रिय रेल नेटबर्कसँग जोडिएको बढनी रेल्वे स्टेसन छ । बिस्तारै बढनी बजारको विकास हुँदै गएको र रेल आवतजावत गर्दा लामो समय बाटो बन्द हुँदा समस्या भइरहेकाले फोर लेनको सडकसहित फ्लाइओभर पुल निर्माण हुन गइरहेको हो । 

श्रावास्ती–कुशीनगर बौद्ध परिपथ सडक खण्डअन्तर्गत बढनी बजारको पश्चिम दक्षिणबाट फोर लेनको १ हजार ७ सय मिटर अग्लो बाटो बनाएर सकिएपछि त्यहीँबाट ओभर ब्रिज बनाइनेछ । फोर लेनको ८ सय १ मिटर लामो ओभरब्रिज गएर बढनीको उत्तर पूर्व गाधी आदर्श विद्यालयनिर नेपाली सीमा नजिक सकिने छ ।

उत्तर प्रदेश सरकारको लोक निर्माण विभागले ३५ करोड २५ लाख भारु लागतमा सडक र उत्तर प्रदेश सेतु निर्माण निगमले १ अर्ब ९ करोड ६५ लाख लागतमा ओभर ब्रिज निर्माण गर्न लागेको इन्जिनियर कमलेश त्रिपाठीले बताए । तीन वर्षमा यो काम सकिनेछ । 

आफू यसै क्षेत्रबाट निर्वाचित सांसद भएकाले सीमावर्ती बजारको विकासमा सघन रूपमा लागेको उनले बताए । यसले द्विदेशीय सम्बन्धमात्र विकास नभई आर्थिक समृद्धिका लागि व्यापारको नयाँ ढोका खोल्ने पनि उनले बताए । ‘आर्थिक विकासको महत्त्वपूर्णर् पाटो सडक कनेक्टिभिटी हो,’ पूर्वप्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले भने, ‘अहिले बढनी भारतका अधिकांश ठूला र औद्योगिक सहरसँग जोडिएको छ । बढनीबाटै रेलबाट भारतभरि जहाँजुकै सजिलै जान सकिन्छ ।’

अब ब्रिज बन्दै गर्दा यसले यातायातलाई थप सजिलो बनाउने पनि उनले बताए । ‘ट्राफिक जाम हुने छैन । नेपालीहरू घरको दैलोमै आएर ओर्लिन पाउने छन्,’ उनले भने, ‘अब नेपाल–भारत आयात निर्यात सजिलो हुनेछ । यहाँको रेल्वेलाई भारत सरकारले पूर्वाञ्चल क्षेत्रको नमुना बनाएको छ ।’

कृष्णनगर मुलुकका १० ठूला भन्सार नाकामा पर्ने एक नाका हो । सीमावर्ती क्षेत्रमा भएको विकाससँगै आर्थिक गतिविधि चलायमान हुँदा मुलुक र व्यवसायीलाई धेरै फाइदा पुग्ने कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत फणीन्द्र खतिवडाले बताए । 

मध्य नेपालको भारत आवतजावत गर्ने कृष्णनगर प्रमुख नाका हो । यहाँबाट रेलसहित बस, जिप, भ्यान पनि भारतका अधिकांश ठूला सहरसम्म जान्छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully