लगानी वातावरण नबिग्रिने गरी काम गर्न सरकारलाई महासंघको आग्रह 

जेएनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट देशैभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यीक्तको निजी सम्पत्तिमाथि भएको आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन र रोजगारीमा असर परेको उनले बताए ।

आश्विन ४, २०८२

कान्तिपुर संवाददाता

Federation urges the government to work so that the investment environment does not deteriorate

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिनेतर्फ गम्भीर हुन आग्रह गरेका छन् । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आागजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको निरिक्षण गर्दै उनले यस्ता घटनाले लगानीको वातावरण बिग्रने अवस्था आएको भन्दै सरोकारवाला सबैलाई गम्भीर हुन आग्रह गरेका हुन् । 

जेएनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट देशैभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यीक्तको निजी सम्पत्तिमाथि भएको आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन र रोजगारीमा असर परेको उनले बताए । 

नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाहरूले दीर्घकालीन असर पार्ने अध्यक्ष ढकालको भनाइ थियो । ‘नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ । यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दलहरू र सरोकारवालाहरूलाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु,’ उनले भने । 

अध्यक्ष ढकालले नेपालका वैदेशिक लगानी भित्र्याउन तथा आन्तरिक लगानी प्रवर्द्धन गर्न महासंघले निरन्तर पहल गरे पनि यस्ता घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा नकारात्मक सन्देश जाने उनको भनाइ थियो । 

नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा निजी क्षेत्रले ८६ प्रतिशतभन्दा बढी योगदान दिएको अवस्थामा लगानीको संरक्षणका लागि उद्योगी व्यवसायीहरूको शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उनले बताए । पछिल्लो घटनाले सरकारको समेत राजस्वसमेत गुम्ने अवस्था आएको उनको भनाइ थियो ।  

महासंघले यसअघि अर्थमन्त्री तथा गृहमन्त्रीसँग भेट गरेर निजी क्षेत्रले अझै पनि शान्ति सुरक्षाको अनुभूति गर्न नसकिरहेकोले सो को प्रत्याभूति दिन, आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरूमाथि कानुनी दायरामा ल्याउन आग्रह गरेको छ । 

महासंघले निजी क्षेत्रको संरक्षण, सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सरोकारवाला सबै पक्षलाई आग्रह गर्दै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully