गौतमबुद्ध विमानस्थलको आन्तरिक टर्मिनलमा नयाँ आगमन कक्ष

असुविधा अन्त्य गर्न फराकिलो र सुविधासम्पन्न आगमन कक्ष सञ्चालनमा

आश्विन २, २०८२

दिपेन्द्र बडुवाल

New arrival hall at domestic terminal of Gautam Budh Airport

What you should know

भैरहवा — रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत आन्तरिक टर्मिनलतर्फ सोमबारबाट नयाँ आगमन कक्ष सञ्चालनमा ल्याइएको छ । ५० वर्षअघि निर्माण गरिएको आन्तरिक टर्मिनलको आगमन कक्ष साँघुरो हुँदा यात्रु र उनीहरूका आफन्तले कष्ट सहनुपरेको थियो । असुविधा अन्त्य गर्न फराकिलो र सुविधासम्पन्न आगमन कक्ष सञ्चालनमा ल्याइएको हो । 

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले काठमाडौंबाट सोमबार दिउँसो भैरहवा आइपुगेका गुल्मीका ७५ वर्षीय गणपति भण्डारीलाई पुष्पगुच्छा दिएर आगमन कक्षको सुरुवात गरेका थिए । काठमाडौंबाट बुद्ध र यती एयरलाइन्सका जहाजबाट आएका यात्रुलाई नयाँ आगमन कक्षमा स्वागत गरिएको थियो । यसरी कक्षमा भित्रिएका यात्रुलाई विमानस्थलले लड्डु वितरण गरेको थियो ।

नयाँ आगमन कक्ष सञ्चालनपछि साँघुरो कक्षमा यात्रु कोचाकोच हुने र उनीहरूलाई लिन आएका आफन्त लामो समय घाममा पर्खिनुपर्ने बाध्यता अन्त्य भएको विमानस्थलका महाप्रबन्धक तिवारीले जनाए । ‘यात्रुको सुरक्षा जत्तिकै विमानस्थलमा उनीहरूले प्राप्त गर्नुपर्ने सुविधा पनि जरुरी हो,’ उनले भने, ‘केही समयदेखि उपलब्ध साधनस्रोतको सदुुपयोग गरेर काम गर्दै आएका थियौं, आजबाट यात्रुलाई फराकिलो र सुविधासम्पन्न कक्षमा स्वागत पायौं ।’

विमानस्थलमा रहेको अस्थायी कार्गो भवन मर्मत र सुविधा थपेर नयाँ कक्ष्ँ निर्माण गरिएको हो । यसअघि विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरीको निवासका रूपमा भवन प्रयोग गरिएको थियो । नयाँ आगमन कक्षमा आफन्तलाई रिसिभ गर्न आउने व्यक्तिलाई बस्नका लागि बेन्चको व्यवस्था गरिएको छ । 

कार्गोलगायत कामका लागि छुट्टै काउन्टर निर्माण गरिएको छ । यसअघि जहाजबाट आएको सामान लिन जाँदा पास लिनुपर्ने र सुरक्षा जाँच पूरा गर्नुपथ्र्यो । ‘अब त्यस्तो झन्झट हटेको छ,’ तिवारीले भने, ‘अब बाहिरैबाट आफ्नो सामान बुझ्न सकिने बनाएका छौं ।’ नयाँ कक्षमा पुरुष र महिलाका लागि फराकिला शौचालय व्यवस्था गरिएको छ । 

विमानस्थलले २/३ महिनाभित्र यात्रुका सामान ओसार्नका लागि स्वचालित कन्भेयर बेल्ट जडान गरिने जनाएको छ । त्यसका लागि टेन्डर प्रक्रिया सुरु गरिएको छ । लगत्तै पुरानो टर्मिनल भवन बिस्तारको काम थालिने भएको छ । अहिले रहेको भवनलाई फराकिलो तुल्याएर यात्रुका लागि आवश्यक सम्पूर्ण सुविधा थप गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए । आन्तरिक टर्मिनल विस्तारका लागि डिजाइन तयार भइसकेको र छिट्टै ठेक्का प्रक्रियामा जाने उनको भनाइ छ ।

दिपेन्द्र बडुवाल बडुवाल कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully