बिमा प्राधिकरणका अध्यक्ष ओझालाई कार्यालयमा हाजिर नगर्न/नगराउन अर्थको निर्देशन

ओझा बिहान १० बजे नै प्राधिकरण पुगेर आन्दोलनमा पुगेको क्षतिसम्बन्धमा छलफल गर्न भन्दै बिमा कम्पनीका सीईओहरुको बैठक डाकेका थिए ।

आश्विन २, २०८२

कान्तिपुर संवाददाता

Direction of Artha not to appear in the office to the Chairman of Insurance Authority Ojha

काठमाडौँ — नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई कार्यालयमा हाजिर नगर्न/नगराउन अर्थ मन्त्रालयले लिखित निर्देशन दिएको छ ।

ओझा प्राधिकरणमा गएर कामकाज गर्न थालेपछि आज लिखित पत्र काटेर उनलाई हाजिर नगर्न/नगराउन निर्देशन दिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । ‘ओझाले अदालतबाट अन्तरिम आदेश पाएको पत्र अर्थ मन्त्रालयलाई प्राप्त नभएकाले अर्को निर्णय नहुँदासम्मका लागि उनलाई प्राधिकरणमा हाजिर नगर्न/नगराउन लिखित पत्रमार्फत निर्देशन भएको छ,’ उनले भने ।

ओझालाई अघिल्लो सरकारको भदौ २ मा ओझालाई बर्खास्त गरेको थियो । सो निर्णयविरुद्ध ओझा सर्वोच्च अदालत गएका थिए । भदौ २३ मा ओझालाई अध्यक्ष पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सोही आदेशको पत्रसहित ओझाले मंगलबार प्राधिकरण पुगेर हाजिर गरेका थिए । बुधबार सार्वजनिक बिदा थियो । आज (बिहीबार) ओझा बिहान १० बजे नै प्राधिकरण पुगेका थिए । उनकै निर्देशनमा दिउँसो १ बजे आन्दोलनमा पुगेको क्षतिसम्बन्धमा छलफल गर्न भन्दै बिमा कम्पनीका सीईओहरुको बैठक डाकिएको थियो । सो बैठकमा ओझाले सीईओहरुसँग छलफल पनि गरेका छन् । यी गतिविधिबारे जानकारी पाएपछि अर्थ मन्त्रालयले लिखित पत्र काटेरै कार्यालय नजान, हाजिर नगर्न र नगराउन प्राधिकरणलाई निर्देशन दिएको हो । 

भदौ २३ को आदेशमा अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाउने भनिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully