उद्यमी व्यवसायीको मनोबल उकास्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री अर्याललाई चेम्बरको आग्रह

‘आर्थिक क्षेत्रको सुरक्षा, डिजीटल सुरक्षा तथा संकट व्यवस्थापनसम्बन्धी तालिम सुरक्षा निकायलाई उपलब्ध गराउन आवश्यक देखिएको छ,’चेम्बरले भनेको छ ।

आश्विन २, २०८२

कान्तिपुर संवाददाता

Chamber's request to Home Minister Aryal to ensure security to boost the morale of entrepreneurs

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोबल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउनआग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्यालसमक्ष सिंहदरबारमा बिहीबार भेटेर उक्त आग्रह गरेको हो । 

आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको र यस्ता घटनाले व्यावसाययिक वातावरणमा नकारात्मक असर पर्न गएको चेम्बरका अध्यक्ष अग्रवालले बताए । भेटका क्रममा उनले भने, ‘मुलुकको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान रहेको छ, मुलुकमा निजी क्षेत्रको लगानी ८१ प्रतिशतभन्दा बढी रहेको छ, विकसित पछिल्लो घटनाक्रमले व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ।’

वर्तमान अवस्थामा सरोकारवाला गृह मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सुरक्षा निकाय र निजी क्षेत्रबीच छिटो छरितो सूचना आदानप्रदानका लागि विशेष संयन्त्र बनाइनुपर्ने चेम्बरको माग छ ।  प्राकृतिक विपत्ति वा अराजकताको समयमा आर्थिक पूर्वाधार सुरक्षित राख्न विशेष सुरक्षा योजना बनाउनसमेत चेम्बरले गृहमन्त्री अर्याललाई सुझाव दिएको छ । ‘आर्थिक क्षेत्रको सुरक्षा, डिजीटल सुरक्षा तथा संकट व्यवस्थापनसम्बन्धी तालिम सुरक्षा निकायलाई उपलब्ध गराउन आवश्यक देखिएको छ,’चेम्बरले भनेको छ । 

यसैबीच नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले आन्दोलनका क्रममा क्षतिग्रस्त नक्सालको भाटभटेनी सुपरमार्केटमा स्थलगत अवलोकन गरेको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलाई भेटी चेम्बर पदाधिकारी टोलीले भाटभटेनीमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कान्तिपुर

Link copied successfully