सडक पूर्वाधारमा छैन ठूलो क्षति, २० हजार योजनामा भइरहेको छ काम

निर्माणस्थलमा कतै ठूलो क्षति भएकोबारे अहिलेसम्म जानकारी नआएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

आश्विन १, २०८२

विमल खतिवडा

There is no major damage to the road infrastructure, work is being done on a 20,000 plan

What you should know

काठमाडौँ — अहिले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत ठेक्का भएका आयोजनाहरुमा धमाधम काम भइरहेको छ । मुख्य सहर र जिल्ला सदरमुकाममा प्रदर्शन र तोडफोड भइरहँदा ठूला पूर्वाधार निर्माण फाटफुट्टबाहेक कतै रोकिएनन् । 

निर्माणस्थलमा कतै ठूलो क्षति भएकोबारे अहिलेसम्म जानकारी नआएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।‘निर्माण भएर हस्तान्तरण भइसकेका भवनहरुमा ठूलो क्षति भएको छ,’ उनले भने, ‘तर निर्माण जारी रहेका आयोजनामा त्यस्तो क्षति छैन ।’ 

निर्माण व्यवसायमै लागेर स्थानीय तहका प्रमुख, उपप्रमुख भएका जनप्रतिनिधिहरुको घरहरुमा क्षति भएको छ । ‘अहिले संघ, प्रदेश र स्थानीयतहमा ठेक्का सम्झौता भएका, निर्माण सुरु भएका सानादेखि ठूलासम्म गरेर करिब २० हजार योजना तथा आयोजना सञ्चालनमा छन्,’ उनले भने, ‘जुन लगभग ६ खर्ब हाराहारीका हुन् ।’

यसमा साना टुक्रे सडक, सिंचाइदेखि ठूला सडक र जलविद्युत् आयोजनाहरु पनि पर्छन् । ‘देशभर राजधानी काठमाडौंदेखि कुनै जिल्लाको वडासम्म जति योजना र आयोजना ठेक्का भएर निर्माण भइरहेका छन्,’ उनले भने, ‘ती सबैको अनुमानित संख्या हो ।’ 

अध्यक्ष सिंहका अनुसार निर्माण भएर हस्तान्तरण भइसकेका सरकारी भवनहरुमा आगलागीबाट अनुमानित १ खर्ब रुपैयाँ बढीको क्षति भएको छ । ‘चालु आयोजनाहरुमा कुनै समस्या छैन,’ उनले भने, ‘सबै आयोजनामा काम भइरहेको छ ।’ 

सहर अस्तव्यस्त बनिरहँदा काठमाडौं–तराई मधेस जोड्ने काठमाडौं/तराई मधेश द्रुतमार्ग(फास्ट ट्रयाक)मा पनि धमाधम काम भइरहेको थियो । अहिले ८१ मिटरसम्म अग्ला पुलको निर्माण जारी छ । त्यस्तै सुरुङमार्गहरुको पनि निर्माण भइरहेको छ । उक्त आयोजनाको काम प्रभावित नबनेको नेपाली सेनाले जनाएको छ । सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजानाको भौतिक प्रगति ४३ प्रतिशत छ । यो आयोजनाको निर्माण लागत अनुमानित २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्‍याइएको छ । अहिलेसम्म ८० अर्ब रुपैयाँ खर्च भइसकेको छ । नागढुंगा–मलेखु, नागढुंगा–नौबिसे सडक खण्डमा पहिलो तहको कालोपत्रको काम सकिसकेको छ । नौबिसे–मलेखु खण्डमा पनि काम भइरहेको छ । यता मलेखु–मुग्लिन खण्डमा रहेको क्रसर प्लाटमा भने प्रदर्शनकारीले आगजनी गर्दा क्षति भएको छ ।

निर्माण सामग्री उत्पादन गर्ने क्रसर प्लान्टमा आगजनी गरिएकाले निर्माणको समयावधि पछि धकेलिने जोखिम बढेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘यस खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको थियो,’ उनले भने, ‘केही दिनअघि भएको प्रदरर्शनका क्रममा क्रसरमा आगजनी गरिएपछि समस्या भएको छ, प्लान्ट स्थापना गर्न ६ महिनाभन्दा बढी समय लाग्छ ।’ प्रदर्शनका बेला अन्यत्र क तैपनि निर्माण नरोकिएको उनले सुनाए । मुग्लिन–पोखरा सडक खण्डमा भने केही समय प्रभावित बने पनि अहिले सुरु भइसकेको छ । आँबुखैरेनी–पोखरा खण्डमा प्रदर्शनमा कार्यालयमा आगजनी र तोडफोड गर्दा केही दिन काम प्रभावित बनेको आयोजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चुँडाराज ढकालले बताए । ‘काम केही दिन प्रभावित बने पनि अहिले सुरु भइसकेको छ,’ उनले भने, ‘आयोजना कार्यालय र गाडीमा क्षति भए पनि निर्माणस्थलमा रहेका मेसिनमा क्षति छैन ।’

त्यस्तै मध्यपहाडी, हुलाकी, मदन भण्डारी राजमार्ग र उत्तर दक्षिण जोड्ने करिडोर सडक निर्माण कतै पनि रोकिएन । बजार क्षेत्रको काम मात्रै प्रदर्शन अवधिभर प्रभावित बने पनि अहिले पुनः सुरु भइसकेको सम्बन्धित आयोजना कार्यालयहरुले जनाएका छन् ।  

प्रदर्शनका बेला एसियाली विकास बैंक (एडीबी)अन्तर्गतका सडकहरुमा निर्माण रोकिएन । नारायणगढ–बुटवल, मुग्लिन–पोखरा, कमला–कञ्चनपुर, काँकडभिट्टा–लौकही खण्डमा काम भइरहेको छ । त्यस्तै विश्व बैंकअन्तर्गत निर्माण भइरहेका कमला–ढल्केबर, बुटवल–गोरुसिंगेको काम पनि जारी छ । अंग्रेजी नयाँ वर्षबाट आउने तयारीमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पनि भइरहेको महानिर्देशक जैसीले बताए । ‘प्रदर्शनका क्रममा सहरी क्षेत्रमा भइरहेको निर्माण आयोजना केही प्रभावित बन्न पुगे,’ उनले भने, ‘नत्र अन्यत्र कतै पनि काम रोकिएन, धमाधम भइनै रह्यो, जिल्लामा रहेका कार्यालयहरुमा आगजनी र तोडफोड भए पनि निर्माणस्थलका मेसिनहरुमा खासै क्षति छैन ।’  

गत वर्षको असोजमा बाढीले क्षति भएको बीपी राजमार्गमा पनि पहिरो पन्छाउने र दसैंलाई सडक सहज बनाउने काम जारी छ । प्रदर्शनका क्रममा यस राजमार्गमा नियमित हुँदै आएको काम रोकिएन । यता स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत टिमुरेदेखि रसुवागढी खण्डमा पहिरो पन्छाउने काम जारी नै रह्यो ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully