कृष्णनगर नाकाबाट हवाई इन्धन र औद्योगिक कच्चा पदार्थ आयात सुरु

मुलुकका १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगर नाकाबाट आयात निर्यात सुरु भएको छ ।

आश्विन १, २०८२

मनोज पौडेल

Aviation fuel and industrial raw material import started through Krishnanagar crossing

कपिलवस्तु — भदौ २३ र २४ को प्रदर्शनका कारण आयात निर्यात प्रभावित बनेको कृष्णनगर नाका बिस्तारै चलायमान बन्दै गएको छ । मुलुकका १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगर नाकाबाट आयात निर्यात सुरु भएको छ ।

आइतबारदेखि सहजै आयात निर्यात भइरहेको कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत फणिन्द्र खतिवडाले बताए । 

आइतबार र सोमबार सबैभन्दा धेरै सम्राट र घोराही सिमेन्ट उद्योगका कच्चा पदार्थ १५ ट्रक कोइला र जिप्सम आयात भएको छ । त्यस्तै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुई दिनमा ९ ट्यांकर हवाई इन्धन आयात भएको छ । कृष्णनगरबाट भारतमा हवाई इन्धन डिपो नजिक रहेकाले यहीबाट आयात भइरहेको प्रमुख भन्सार अधिकृत खतिवडाले बताए । 

त्यस्तै, बियरका सिसाको बोतल पनि आयात भएको थियो । त्यस्तै तरकारी, फलफूल र खाद्यान्न पनि अहिले नियमित आयात भइरहेको छ । त्यस्तै आइतबार र सोमबार गरी ९ ट्रक नेपाली सिमेन्ट भारत निकासी भएको छ ।  

भदौ २४ देखि २७ गतेसम्म यो नाका नराम्ररी प्रभावित भएको थियो । मुलुकको अवस्था सहज बनेसँगै जिल्लाको अर्को मुख्य भन्सार नाका सुठौली पनि पूर्ण रूपमा सञ्चालनमा आएको छ । दुवै नाकामा रोकिएका सबै सेवा पुनः सुचारु भइसकेका छन् । 

भन्सार नाका सञ्चालनमा आएसँगै आर्थिक गतिविधि चलायमान हुँदा व्यवसायीलाई धेरै राहत पुगेको कृष्णनगर उद्योग वाणिज्य संघ अध्यक्ष रितेशकुमार शर्माले बताए । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully