लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित नेचुङ भन्सार कार्यालयमा अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडान भएसँगै १ सय ५१ वटा चिनियाँ विद्युतीय (ईभी) गाडीहरू समेत गरी विभिन्न तयारी पोसाक, इलेक्ट्रोनिक्स तथा कस्मेटिक सामान बोकेका ६७ वटा चिनियाँ कन्टेनरहरू आइपुगेको कोरला भन्सार कार्यालयले जनाएको छ ।
What you should know
म्याग्दी — लोमान्थाङ गाउँपालिका–१ नेचुङमा पर्ने नेपाल–चीन बीचको २४ नम्बरको सीमा स्तम्भ रहेको फराकिलो पठार कोरला नाकाबाट औपचारिक रूपमा भन्सार सञ्चालनमा आएको छ ।
लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित नेचुङ भन्सार कार्यालयमा अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडान भएसँगै १ सय ५१ वटा चिनियाँ विद्युतीय (ईभी) गाडीहरू समेत गरी विभिन्न तयारी पोसाक, इलेक्ट्रोनिक्स तथा कस्मेटिक सामान बोकेका ६७ वटा चिनियाँ कन्टेनरहरू आइपुगेको कोरला भन्सार कार्यालयले जनाएको छ ।
पहिलो लट मंगलबारसम्म २१ कन्टेनरले भन्सार जाँचपासगरी कोरलाबाट तल झरेका छन् । सोही समयमा नेपालबाट भने २ ट्रक नेपाली हस्तकला र पूजा सामाग्रीहरू चीनतर्फ निर्यात भएका छन् । नेपालबाट चीनतर्फ गएका सामाग्रीहरू सबै शून्य भन्सार (कर मुक्त) सामग्री हुन् । चीनबाट अत्याधुनिक स्क्यानर प्रविधिबाट परीक्षण भई सामान जाँचपास हुने गरेपनि यता भने उताको बिलको आधारमा कम्प्युटर बिलिङ गर्न थालिएको हो ।
‘कोरला भन्सार कार्यालयमा पनि कागजमा बिल काट्ने एनालग सिस्टम विस्थापित गरी अन्तर्राष्ट्रिय भन्सार प्रणाली सेटअप गरी चिनियाँ सामानहरू आयात थालेका छौँ’ कोरला भन्सार कार्यालयका प्रमुख रमेश खड्काले भने, ‘२ दिन भयो उता (चीन)बाट गाडी छोडेको छैन, भोलिदेखि थप सामान आउँछ होला ।’
कोरला नाका तिब्बतको ढोङ्वासेन हुँदै सिगात्सेबाट आएको ‘चाइना नेसनल हाइवे २१९’ सँग जोडिएको छ । रसुवागढी स्थित तातोपानी नाकामा केही समय अघि आएको बाढी पहिरोले भन्सार कार्यालयसमेत पूर्वाधारहरूमा क्षति पुर्याएपछि वैकल्पिक बाटोको रूपमा कोरला नाका प्रयोगमा ल्याइएको हो ।
चीनबाट आएका ईभी गाडीहरू कोरलास्थित सुख्खा र खुल्ला बन्दरगाहमा राखिएका छन् । नेपाल–चीनबीच ०७५ सालमा हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार कोरला नाका सुख्खा बन्दरगाह सञ्चालनमा आएको हो ।
चिनियाँ अध्यागमन कार्यालयको आमने–सामने निर्मित प्रिफ्याब प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोस्ट स्थापना गरी अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडानगरी कोरला नाकाबाट व्यावसायिक कारोबार सुरु भएको हो । सीमापार चीनले भने सूचाना प्रविधि जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेनटाइन, आवास, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेनर पार्किङ र सुरक्षा पूर्वाधार खडा गरी सकेको छ ।
‘कोरला भन्सारबाट छुटेका पहिलो लटका २१ वटा कन्टेनेरहरु मुस्ताङबाट तल झरेका छन् । थप आज भन्सार जाँचपास क्रममा छन् । अब कालीगण्डकी कोरिडोर अन्तर्गतको पोखरा–बेनी–जोमसोम–कोरला सडकमा व्यावसायिक रौनक थपिने छ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले भने, ‘मनसुन सिजनमा म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्रमा पहिरोले ढुवानीमा केही असहज भएपनि पूरै अवरुद्ध भने भएको छैन । कोरलामा चिसो बढेकोले गाडी स्टार्टमा पनि केही समस्या देखिएको छ ।’
