उद्योग व्यवसायमा ३६ अर्बको क्षति, साढे १५ हजार रोजगारी प्रभावित : सीएनआई  

क्षतिको विवरण आउने क्रम जारी रहेको र मूल्यांकनको काम भइरहेकाले क्षतिको संख्या र रकम अझै बढ्ने अनुमान गरिएको सीएनआईले जनाएको छ । 

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

36 billion loss in industry, 15,500 jobs affected: CNI

What you should know

काठमाडौँ — भदौ २३ को जेनजीको प्रदर्शन र २४ गतेको आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडबाट नेपाल उद्योग परिसंघ (सीएनआई) मातहतका उद्योग व्यवसायमा मात्र करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति प्रारम्भिक अनुमान छ । क्षतिको विवरण आउने क्रम जारी रहेको र मूल्यांकनको काम भइरहेकाले क्षतिको संख्या र रकम अझै बढ्ने अनुमान गरिएको सीएनआईले जनाएको छ । 

मुलुकभर सञ्चालनमा रहेका ती उद्योग व्यवसायमा क्षति पुग्दा करिब साढे १५ हजार रोजगारी प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक अनुमान छ । परिसंघअन्तर्गत केन्द्रमा ३ सय ५० साना तथा मझौला उद्यमी सदस्य रहेका छन् भने मुलुकभर करिब ७ हजार सदस्य छन् । 

प्रर्दशनको क्रममा धेरै रोजगारी प्रदान गरिरहेका होटेल तथा पर्यटन क्षेत्र, भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, चन्द्रागिरी केवलकार, मौलाकालीका केबलकारलगायत संस्थाले प्रदान गरेको राजगारीको संख्या मात्र हो ।

आन्दोलनका क्रममा मुलुकभर धेरै उद्योग व्यवसाय, व्यापारिक मलमा क्षति पुगेकाले प्रत्यक्ष रूपमा रोजगारी प्रभावित हुने संख्या अझै बढ्ने सिधा अनुमान गर्न सकिन्छ । यद्यपि उल्लिखित व्यावसायिक घरानाहरूमा आफ्नो व्यवसायमा क्षति पुगे पनि कर्मचारीलाई तत्काल रोजगारीबाट नहटाउने बताएका छन् । यसकारण यहाँ उनीहरूको रोजगारी गुम्नुभन्दा पनि केही समयका लागि प्रभावित हुने रूपमा विश्लेषण गरिएको छ । 

मुलुकभर रहेका २८ भाटभटेनी सुपरमार्केटमा करिब १० हजार कर्मचारी कार्यरत थिए । तीमध्ये आन्दोलनका क्रममा २१ वटामा क्षति पुगेको छ । तीमध्ये ९ वटामा अहिले क्षति पुगेका सुपरमार्केट तोडफोड मात्र भएको थियो । ती सपरमार्केट सञ्चालनमा आइसकेका छन् । बाँकी १२ वटा सुपरमार्केटमा पूर्ण रुपमा ध्वस्त भएका छन् । ती हाल सञ्चालनमा छैनन । 

होटल संघ नेपाल (हान)को तथ्यांकअनुसार नेपालका होटल तथा आतिथ्य क्षेत्रमा क्षति पुर्‍याएपछि दुई हजार हाराहारीको रोजगारी प्रभावित भएको बताएको छ । करिब २५ होटलले आक्रमणबाट क्षति खेप्नुपरेको र दुई हजार कर्मचारी तथा कामदारको जागिर प्रभावित भएको प्रारम्भिक आकलन हानको छ ।

कान्तिपुर

Link copied successfully