सोमबारदेखि सरकारी सहुलियत पसल, ७० रुपैयाँसम्म छुट

खाद्यको आउलेटबाट छुटका सामान किन्न ४५ जिल्लामा १ सय ११ पसल खुल्दैछन्। अनलाइन बिक्रीको पनि सुविधा उपलब्ध हुनेछ।

भाद्र ३०, २०८२

राजु चौधरी

Govt concession shop from Monday, discount up to Rs 70

काठमाडौं– सरकारले चाडपर्वलाई लक्ष्य गरी सोमबारदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सहुलियत पसलमा सामानअनुसार ७० रुपैयाँसम्म छुट हुने भएको छ । छुट पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकिलो ५ देखि १० रुपैयाँ, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले २ देखि ७ रुपैयँँ र दुग्ध विकास संस्थान (डीडीसी) ले ७० रुपैयाँसम्म छुट दिने जनाएको छ ।

‘सहुलियत पसल सोमबारदेखि ४५ जिल्लाका १ सय ११ ठाउँबाट सञ्चालन हुनेछ । सर्वसाधारणले खाद्यको आउलेट र बिक्री केन्द्रबाट छुटका सामान किन्न सक्छन्,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले भने, ‘सँगसँगै अनलाइनबाट पनि बिक्री गर्छौं ।’ 

दुर्गमका जनता केन्द्रित हुनुपर्नेमा सुगमलाई केन्द्रित हुँदा आलोचना हँुदै आएको छ । यसपालि भने खाद्यले दुर्गममा केन्द्रित गरेको जनाएको छ । खाद्यले गत वर्ष ४२ जिल्लाका ६३ ठाउँबाट छुट दिएको थियो । यस पटक भने १ सय ११ ठाउँका बिक्री केन्द्रबाट छुट दिने यँेजना बनाएको छ । आवश्यक परे थप जिल्ला र स्थानमा सञ्चालन गर्ने उसको भनाइ छ । 

साल्टले पनि १२ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसल गरी ४० स्थानबाट छुट दिने निर्णय गरेको छ । नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, तेलमा ७ रुपैयाँ र चिउरामा ७ रुपैयाँ छुट दिइने साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीले जनाए । पिठोमा प्रतिकिलो ७ रुपैयाँ, मैदामा ७ रुपैयँँ र दालमा ७ रुपैयाँ छुट दिइने उनको भनाइ छ । 

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully