भन्सार सटडाउन हुँदा समयमै ढुवानी हुन सकेन । आन्दोलन थप चर्किने त्रासले सर्वसाधारणहरू ग्यास सञ्चय गर्न खोजे । त्यही कारण बजारमा ग्यासको केही अभाव देखियो ।
नेपालमा भारतीय ग्यास बुलेट र भारतीय चाकलमार्फत खाना पकाउने ग्यास ढुवानी हुन्छ । भदौ २३ को आन्दोलनको क्रममा चालकहरू ग्यास ढुवानी गर्न मानेनन् । त्यसमा पनि भन्सार सटडाउन हुँदा समयमै ढुवानी हुन सकेन । आन्दोलन थप चर्किने त्रासले सर्वसाधारणहरू ग्यास सञ्चय गर्न खोजे । त्यही कारण बजारमा ग्यासको केही अभाव देखियो ।
चाडपर्व आउन अब डेढ सातामात्रै बाँकी हुँदा खाना पकाउने ग्यासको ढुवानी, माग र बिक्रीबारे कान्तिपुरकर्मी राजु चौधरीले नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेसँग गरेको कुराकानी :
nnजेनजी आन्दोलन र त्यसपछिको परिस्थितिले बजारमा पेट्रोल डिजेल अभाव नभएपनि ग्यास अभावको गुनासो रह्यो, किन होला ?
ग्यासमा देखिने यस प्रकारको अभाव नयाँ होइन, परम्परागत नै हो । उपभोक्ताको घरमा नियमित खपतको ४/५ गुणा बढी सिलिन्डर राखेको पाइन्छ । यस प्रकारको आन्दोलन, बाढी पहिरो जस्ता विषम परिस्थितिमा उपभोक्ताहरु थप सञ्चित गर्न खोज्छन् । आफूसँग भएको खाली सिलिन्डर एकैपटक भरेर ढुक्क हुन चाहन्छन् । बजारमा एकैचोटी माग बढ्दा केही अभाव देखिन्छ । अहिलेको अवस्था पनि त्यही नै हो । उद्योगी व्यवसायीले नियमित आपूर्ति भन्दा शतप्रतिशत आपूर्ति गरे पनि अभाव देखिन्छ । तर बजार सहज भइसकेको छ । अब समस्या छैन । बारम्बार देखिने यस्तो समस्या समाधान गर्न उपभोक्ता कार्ड प्रणाली लागु गर्ने र डिलर प्रमाणीकरण गर्नुपर्छ । सरोकारवालाले सकारात्मक प्रयासले स्थायी समाधान गर्न सकिन्छ ।
ग्यास ढुवानीमा अहिले के कारणले समस्या भयो ? दुई चार दिन ढुवानी प्रभावित हुने बित्तिकै अभाव हुनुको कारण के होला । नेपालमा ग्यास उद्योगी कति छन् ? उद्योगीसँग मौज्दातको अवस्था कति हुन्छ ?
केहीदिन अघि सामान्य अभाव देखिनुमा विभिन्न कारण छन् । पहिलो कारण ग्यास आयात हुने सबैभन्दा नजिकको इन्डियन आयल निगमको बरौनी रिफाइनरी बन्द थियो । नियमित सरसफाइका लागि करिब २० दिनदेखि बन्द हुँदा पर्याप्त ग्यास आएन । दोस्रो भदौ २३ को आन्दोलन । आन्दोलनका कारण भारतीय ट्रान्सपोर्टरहरु ग्यास बुलेट चलाउन मानेनन् । उनीहरू डराएर भारतमै बसे । सुरक्षा निकायले पेट्रोलियम पदार्थको सवारी उल्लेख गरे पनि ग्यास बुलेट भनेर छुट्टै लेखेन । त्यही कारण कतिपय ग्यास बुलेट ढुवानीमा अवरोध भयो । सगसगै आन्दोलनकै कारण भन्सारको सिस्टटम चलेन । यी विविध कारणले केही समस्या भएको थियो । राजनीतिक, प्राकृतिक र अन्य हल्लाले अनावश्यक माग बढेको देखिन्छ । माग र आपूर्तिबिचका असन्तुलन हुँदा अभाव हुने गरेको छ । हाल नेपालमा ५९ ग्यास कम्पनीहरू रहेका छन् । ती उद्योगको भण्डारण बढीमा औसत ७ देखी १० दिनको मात्रै हो ।
nnग्यास अभाव र समयमै ढुवानी नहुनुमा ग्यास उद्योगी जिम्मेवार हो कि आयल निगम ? ग्यासको ढुवानी र आपूर्ति प्रणालीमा निगम र उद्योगीको भूमिका के हो ?
पहिलो कुरा खान पकाउने ग्यास ढुवानीका लागि नेपालको आफ्नै ग्यास बुलेट छैन । भारतीय ग्यास बुलेटबाट ढुवानी हुन्छ । स्वदेशी उद्योगीसँग सीमित दिनका लागि मौज्दात राख्न सकेपनि नेपाल आयल निगमसँग आफ्नो स्टोरेज पाइपलाइन लगायतको संरचना छैन । निगमले ग्यासको प्रोडक्ट डेलिभरी अडर (पिडिओ) जारी गरेपछि ढुवानी गर्न ग्यासको बुलेट व्यवस्थापन गर्ने, चालक खोज्ने सबै उद्योगीले गर्ने हो । अहिले देखिएको आपतविपतमा चालकहरू ढुवानी गर्न इच्छा देखाउँदैनन्, डराउँछन् । त्यसको सबै व्यवस्थापन उद्योगीहरू आफैँले गर्ने हो । केहीदिनअघि देखिएको सामान्य अभावमा निगम र उद्योगी कुनैको हात छैन । कृत्रिम माग र सट्टेबाजी माग मात्रै हो । यस्तो संसारका अन्य मुलुकमा पनि देखा पर्छ । निगमले पिडिओ उपलब्ध नगराउने कारण केही समस्या पनि हुन्छ । यसका लागि निगम बढी जिम्मेवार हुनुपर्छ ।
nnनेपालमा कति ग्यास बुलेटबाट ढुवानी हुन्छ ? अहिले कुन कुन भन्सार नाकाबाट कति ग्यास बुलेट भित्रिएको छ ? एउटा ग्यास बुलेटमा कति ग्यास सिलिन्डर भर्न सकिन्छ ? र दैनिक माग कति हो ?
नेपालमा करिब ७५० ग्यास ट्यांकरले नियमित ग्यास ढुवानी गरिराखेका छन् । यी सबै भारतीय हुन । नाकाबाट दैनिक फरक फरक संख्यामा ग्यास बुलेट भित्रिएको छ । दुई तीन दिनयताकै कुरा गर्दा शुक्रबार विभिन्न नाकाबाट २ सय १० बुलेट ग्यास भन्सार जाँचपास भई बजारमा भित्रिएको छ । शनिबार ८० बुलेट छुटेको छ । गत बिहीबार आईओसीको पारादिप रिफाइनेरीमा ६४ बुलेट ग्यास लोड भएको थियो । मथुरामा २५ बुलेट, दुर्गापुरमा ११ बुलेट, हल्दियामा ३ बुलेट ग्यास लोड भएको थियो । शुक्रबार आईओसीको पारादिप रिफाइनेरीमा ३८ बुलेट, मथुरामा २७ बुलेट, दुर्गापुरमा १६ बुलेट र हल्दियामा ५ बुलेट ग्यास लोड भएको छ । शुक्रबार नै बरौनी रिफाइनेरीमा १५ बुलेट लोड भएको छ । एउटा ग्यास बुलेटमा औसत करिब १२६० सिलिन्डर ग्यास हुन्छ । दैनिक माग फरकफरक भएपनि मुलुकभर उद्योग सञ्चालन भएको दिनलाई मान्दा दैनिक एक लाख थान सिलिन्डरको माग हुन्छ ।
nnआयात भइरहेको ग्यास बुलेटले आउँदै गरेको चाडपर्वमा अभाव नहुने ग्यारेन्टी हुन्छ ?
आयल निगमले नेपालका लागि लोड हुने सबै रिफाइनरीबाट ग्यास कम्पनीले माग गरे अनुसार पिडिओ जारी गरेको छ । ग्यास लोड र ढुवानीमा कुनै समस्या छैन । आईओसीले पनि लोड दिने व्यवस्था गरेको छ । यही क्रममा आयात भए चाडपर्वमा अभाव हुने सम्भावना छैन ।
