‘जति क्षति भए पनि बिमा कम्पनीले भुक्तानी पाउँछन्’

 बिमा दाबी भुक्तानी, र्फ्छ्योटलगायत प्रक्रिया छिटो र सहज तरिकाले टुंग्याउन बिमक संघको आग्रह,  आफैंले सिर्जना गरेको क्षति भएकाले अन्तर्राष्ट्रिय सहयोग नहेरौं, आफ्नै स्रोतबाट पुनर्निर्माण गरौं : विज्ञ

भाद्र २८, २०८२

यज्ञ बञ्जाडे, सीमा तामाङ

काठमाडौं — यही भदौ २३ र २४ मा भएको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी आउन थालेको छ । शुक्रबारसम्म करिब १५ अर्ब रुपैयाा बराबरको दाबी भुक्तानी आइसकेको नेपाल बिमक संघका महासचिव अशोक खड्काले बताए ।

मंगलबार र बुधबारदेखि नै दाबी आउन थालेको र शुक्रबारसम्म सबै निर्जीवन बिमा कम्पनीमा मात्र १५ अर्ब रुपैयाा बराबरको दाबी परिसकेको उनको भनाइ छ । 

‘सुरुको दाबीमा धेरै रकम आएको हुन्छ । यसकारण परेकोमध्ये करिब ९ अर्बको वास्तविक भुक्तानी हुन आउला,’ उनले भने, ‘दाबी आउने क्रम भर्खर सुरु भएकाले यो संख्या धेरै बढ्ने अनुमान छ ।’सेवाग्राहीलाई प्रदर्शनकारीले गरेको क्षतिको बिमा दाबी कम्पनीमा गर्न र कम्पनीले पनि छिटो भुक्तानी दिन बिमक संघले बिमा कम्पनीहरूलाई आग्रह गरेको छ । 

‘असहज परिस्थितिका कारण सिर्जित क्षतिको जानकारी गर्न सम्पूर्ण बिमित तथा ग्राहकलाई आआफ्नो सम्बन्धित बिमा कम्पनीमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आगजनी तथा तोडफोडले धेरै कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् । केहीमा आंशिक क्षति पुगेको छ । 

एकै पटक धेरै क्षति भएकाले बिमा कम्पनीले सबै दाबी भुक्तानी गर्न सक्छन् सक्दैनन भन्ने चासो सबैतिर छ । यही चासोलाई ध्यानमा राखेर हालसम्म परेको बिमा दाबी, भुक्तानी,र्फ्छ्योटलगायत प्रक्रिया छिटो र सहज तरिकाले टुंग्याउन बिमक संघले आग्रह गरेको हो । 

क्षतिको अवस्था हेर्दा बिमा दाबी धेरै आउने देखिन्छ । तर धेरै सरकारी संरचनाको बिमा भएको छैन । निजीलगायत अन्य क्षेत्रको बिमा भएकाले धेरै दाबी आउन सक्ने अनुमान छ । सवारी साधनको हकमा तेस्रो पक्ष बिमा गरिएको रहेछ भने उसले भुक्तानी पाउँदैन । अहिले बिमा पाउन सवारी साधनको पूर्ण बिमा गरिएको हुनुपर्छ । 

घर, कार्यालय र सम्पत्तिको हकमा भने बिमा पाइन्छ । नेपालमा सबै सम्पत्तिको बिमा गर्ने चलन निकै कम छ । यसकारण भएको सबै क्षतिको बिमा दाबी आउने अवस्था रहन्न । कति रकमको बिमा भएको र त्यसमा कति क्षति भएको छ, त्यसका आधारमा बिमा पाउने सरोकारवाला बताउँछन् । 

बिमा कम्पनीले आफूले गरेको बिमाको पुनर्बिमा कम्पनीमा बिमा गरेका हुन्छन् । बिमितलाई बिमा कम्पनीले भुक्तानी दिए पनि त्यो रकम उनीहरूले पुनर्बिमा कम्पनीबाट भुक्तानी पाउँछ । पुनर्बिमा कम्पनीले पनि अरु पुनर्बिमा कम्पनीसँग बिमा गरेका हुन्छन् । यसरी बिमा भनेको जोखिम स्थानान्तरण गर्ने व्यवसाय पनि हो । यसकारण जति धेरै दाबी भुक्तानी आए पनि तिर्न सकिने बिमा कम्पनीहरूको दाबी छ ।

बिमा प्राधिकरणले बिहीबार निर्देशन जारी गरेको परेका दाबी छिटो पर्छ्योट गर्न र दाबीको तथ्यांक आफूलाई पठाउन बिमा कम्पनीहरूलाई निर्देशन दिइसकेको छ । ‘यही भदौ २३ देखि उत्पन्न असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै त्यसबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्योट गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,’ प्राधिकरणले जारी गरेको निर्देशनमा उल्लेख छ । 

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully