नेप्से चार दिनमा ५३ अंकले घट्यो

अघिल्लो दिनको तुलनामा शून्य दशमलव ४२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ८.२५ अंकमा ओर्लेर बन्द भएको छ । यस दिन कारोबारमा आएकामध्ये ७९ कम्पनीको सेयर मूल्य बढ्दा १७३ कम्पनीको घट्यो ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

NEPSE fell by 53 points in four days

What you should know

काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से ११.५२ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा शून्य दशमलव ४२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ८.२५ अंकमा ओर्लेर बन्द भएको छ । यस दिन कारोबारमा आएकामध्ये ७९ कम्पनीको सेयर मूल्य बढ्दा १७३ कम्पनीको घट्यो ।

यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनीको संख्या धेरै भएपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो । गत मंगलबारदेखि नेप्से परिसूचक घटिरहेको छ । 

आइतबार ५८ हजार ८७ पटकको कारोबारबाट १ करोड ११ लाख २४ हजार ८ सय ४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बिहीबार ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स कम्पनी, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोषको परिसूचक बढे । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घट्न दबाब पुगेको हो । सो दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.२७, फाइनान्सको २.३९ र सामूहिक लगानी कोषको शून्य दशमलव शून्य ८ अंकले बढे । उक्त दिन जीवन बिमा उपसमूहको परिसूचक ५१.६४, निर्जीवन बिमाको २२.८६, जलविद्युत्को २३.४५, व्यापारको ९.८९ अंकले घट्यो । 

आइतबार हिमस्टार ऊर्जाको सेयर मूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढ्यो । एनआईबीएल समृद्धि फन्ड–२ को सेयर मूल्य ५.८३, युनिभर्सल पावर कम्पनीको ५.१२, मेगा म्युचअल फन्ड–१ को ४.६९, एनआईबीएल ग्रोथ फन्डको ४.१५ प्रतिशतले मूल्य बढ्कोे नेप्सेको तथ्यांक छ । 

तर, पञ्चकन्या माई हाइड्रो पावरको सेयर मूल्य ४.६२, विकास हाइड्रोपावरको ३.९२, आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर (२०८३) को ३.८८, सानिमा डिबेञ्चर (२०८९) को ३.८८ र ओरियन्टल होटल्सको ३.७० प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा आइतबार युनियन हाइड्रोपावरको २९ करोड ९९ लाख रुपैयाँ, नेपाल रि–इन्स्योरेन्स कम्पनीको २७ करोड ६४ लाख, एभरेस्ट बैंकको २२ करोड १५ लाख, हिमालयन डिस्टिलरीको १६ करोड ५ लाख र युनिभर्सल पावर कम्पनीको १३ करोड १ लाखको सेयर कारोबार भएको छ ।

सेयर बजार घटेपछि एकै कारोबार दिन सेयर बजारको आकार (पुँजीकरण) १९ अर्ब २६ करोड ५१ लाख रुपैयाँले खुम्चिएको छ । गत बिहीबार ४५ खर्ब ४६ अर्ब ७४ करोड ३१ लाख रुपैयाँ थियो ।

कान्तिपुर

Link copied successfully