गत मंगलबारदेखि ओरालो लागेको नेप्से परिसूचकले आइतबार पनि सोही बाटो पछ्यायो ।
काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से ११.५२ अंकले घट्यो । गत बिहीबारको तुलनामा ०.४२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ८.२५ अंकमा ओर्लेर बन्द भएको हो ।
सो दिन कारोबारमा आएकामध्ये ७९ कम्पनीको सेयर मूल्य बढ्दा १७३ कम्पनीको घट्यो । यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनीको संख्या धेरै भएपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।
आइतबार ५८ हजार ८७ पटकको कारोबारबाट १ करोड ११ लाख २४ हजार ८ सय ४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बिहीबार ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स कम्पनी, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोषको परिसूचक बढे । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घट्न दबाब पुगेको हो ।
