नागढुंगा–मुग्लिङ सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझा भन्छन्, ‘सडकमा समस्या छैन, समस्या भएको खण्डमा कालोपत्र गरिसकेका छौं’
What you should know
काठमाडौँ — पूर्वदेखि पश्चिमसम्म जाने सवारीसाधनले प्रयोग गर्ने सडक हो, नागढुंगा–मुग्लिन खण्ड । यो सडक खण्ड भएर दिनको १२ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । चाडबाडका बेला त झन् यस खण्डमा सवारी चाप थामिनसक्नु हुन्छ । दसैं आउन पनि धेरै दिन बाँकी छैन, आधा महिनामा घटस्थापना छ ।
चाडबाड नजिकिँदै गर्दा सडकको अवस्था कस्तो छ ? दसैंमा गत वर्षको जस्तै यात्रुले सास्ती खेप्नु त पर्दैन ? नागढुंगा–मुग्लिङ सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझा भन्छन्, ‘समस्या छैन, समस्या भएको खण्डमा कालोपत्र गरिसकेका छौं ।’ अन्यत्र बर्खाका कारण कालोपत्र नभए पनि समस्या भएको खण्डमा कालोपत्रको काम सकिसकेको उनको भनाइ छ ।
‘अहिले नयाँ कालोपत्रको काम भएको छैन,’ ओझाले भने, ‘चाडबाडलाई दृष्टिगत गर्दै भदौ अन्तिमसम्म खाल्डाखुल्डी पुर्ने काम थाल्छौं ।’ कालोपत्रको काम दसैंपछि मात्र सुरु हुन्छ । ‘यो पटक दसैं असोज पहिलो साताबाटै सुरु छ,’ उनले भने, ‘मनसुन दोस्रो सातासम्म सक्रिय हुने पूर्वानुमान छ, त्यसैले दसैंअघि धेरै काम हुँदैन ।’ पहिरोको जोखिम रहेको क्षेत्रमा मेसिनहरू तैनाथ अवस्थामा राखिएको ओझाले जनाए ।
नागढुंगा–मुग्लिन सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नति गरिराखिएको छ । तीनमध्ये पहिलो खण्ड नागढुंगा–नौबिसे हो । यो सडक खण्डअन्तर्गतको पहिलो खण्डमा पहिलो तहको कालोपत्रको काम सकिएको आयोजनाले बताएको छ । १२.२६ किलोमिटरको पहिलो खण्डमा नागढुंगा–नौबिसे पर्छ । यही खण्डमा दोस्रो तहको कालोपत्र गर्ने काम पनि ५.५ किमि सकिइसकेको छ । तेस्रो तहको कालोपत्रको काम भने दसैंपछि मात्र हुने प्रमुख ओझाको भनाइ छ ।
नागढुंगा–नौबिसे खण्डको समग्र भौतिक प्रगति ८४ प्रतिशत छ । पहिलो खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीमा लिएका हुन् । यही खण्डको खानीखोलामा पैदलयात्रीका लागि अपांगमैत्री अकासे पुल बनाइनेछ । त्यो काम यही प्याकेजअन्तर्गत पर्ने र बर्खा लगत्तै काम सुरु हुने उनको भनाइ छ । उनकाअनुसार उक्त खण्डमा अहिले सामान्य कंक्रिट ढलानका काम मात्र भइरहेको छ ।
गत वर्ष सबैभन्दा बढी समस्या झ्याप्ले खोलामा भएको थियो । नागढुंगा चेकपोस्टबाट २.७ किमि दूरीमा रहेको उक्त खोलामा माथिबाट पहिरो खस्दा २०८१ असोजमा रोकिराखेका दुई वटा माइक्रो र एउटा यात्रु बस पुरिँदा ३५ जनाको ज्यान गएको थियो । अहिले उक्त खण्डमा विशेष प्रकृतिको स्लोप स्टेबलाइजेसन (पहिरो नियन्त्रण) को काम भइरहेको छ । यसको काम सकिएपछि मात्र त्यस खण्डमा कालोपत्र थालिनेछ ।
२०७८ चैत २९ मा पहिलो खण्डको ठेक्का सम्झौता भएको हो । काम भने सम्झौताको करिब डेढ वर्षपछि २०७९ जेठ २६ मा मात्र सुरु भयो । २०८१ जेठ २७ भित्र काम नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपियो, काम सकिएन । फेरि २०८२ साउन १० सम्मका लागि समय थप्दा पनि काम नसकिएपछि फागुन मसान्तसम्म म्याद थपिएको छ ।
दोस्रो खण्डमा पर्छ, नौबिसे–मलेखु खण्ड । यसको दूरी ४३.५४ किमि छ । यस खण्डको ठेक्का ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामाले जेभीमा लिएका हुन् । यसको भौतिक प्रगति ४२ प्रतिशत छ । उक्त खण्डमा दुवैतर्फी गरेर १५ किमि सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । यसमा भने दोस्रो तहको कालोपत्रको काम हुन सकेको छैन । बर्खामा कालोपत्र गर्दा टिकाउ नहुने भएकाले नगरिएको प्रमुख ओझाले बताए । २०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यस खण्डको काम २०८२ जेठ मसान्तमा सकिसक्नुपर्ने भए पनि सकिएको छैन । काम नसकिएपछि २०८३ भदौसम्म म्याद थपिएको छ ।
तेस्रो खण्डमा पर्छ, मलेखु–मुग्लिन । ३८.८६ किमि दूरीको यो खण्डको प्रगति ३४ प्रतिशत छ । शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएका हुन् । १५ पुस २०७९ मा भएको सम्झौताअनुसार पुस २०८२ भित्र काम सक्नुपर्ने हो । तर समय सकिनै लाग्दा आधा पनि काम भएको छैन । उक्त खण्डमा अहिलेसम्म ८.१४ किमि मात्र सडक कालोपत्र गरिएको छ । बर्खाले क्षति गरेको सडक खण्ड मर्मतको काम भइरहेको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताए ।
‘बर्खाले गर्दा कालोपत्रको काम हुन सकेको छैन, चाडबाडलाई दृष्टिगत गर्दै सडकका खाल्डाखुल्डी पुर्ने तयारी भइरहेको छ,’ नेपालले भने, ‘दसैंअघिसम्म सबै खाल्डाखुल्डी पुरिसक्छौं ।’
ग्राभेल राखेर सडक मर्मतको काम भइरहेको उनको भनाइ छ । चाडबाडमा यात्रुले सास्ती खेप्नु त पर्दैन नि ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘चाडबाडमा यातायात सहज रूपमा सञ्चालन गराउँछौं, मेसिनहरू ठाउँ–ठाउँमा राखिएको छ । बर्खामा राखिएका मेसिनहरू ठेक्का लिने कम्पनीलाई चाडबाड अवधिभर तयारी अवस्थामा राख्न भनेका छौं ।’
गौमती, खत्यौडी र मौवा खोलाको पुलको काम सकिएको र बारबाङ खोलाको मात्र बाँकी रहेको नेपालले जनाए । असारबाट कालोपत्रको काम भएको छैन । ‘बर्खाको बेला टेवा पर्खाल निर्माणको काम गर्यौं,’ उनले भने, ‘बर्खाको बेला निर्माण व्यवसायीले कालोपत्रका लागि आवश्यक पर्ने गिट्टी, बालुवा प्रशोधन गरेर तयारी अवस्थामा राख्ने काम भएको छ ।’ समग्रमा नागढुंगादेखि मुग्लिनसम्मको दूरी भने ९४.६६ किमि छ ।
