नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाले आवेदन दिएका छन् ।
What you should know
काठमाडौँ — यही भदौ १४ मा एक साताको म्याद दिएर मागिएको आवेदनमा १४ जना प्रत्याशीले आवेदन दिएका हुन् ।
जसअनुसार घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देवकुमार ढकाल, दीपकबहादुर भण्डारी, राजेन्द्र पण्डित, यज्ञप्रसाद न्यौपाने, रमेशकुमार भट्टराई र महेश्वर न्यौपानेकोे आवेदन परेको छ ।
अध्यक्ष छनौटका लागि सरकारले यसअघि नै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिका सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल रहेका छन् ।
बिमा, मौद्रिक, बैकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले प्राधिकरणको अध्यक्षमा आवेदन दिन सक्नेछ ।
अध्यक्षका लागि ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनु पर्ने व्यवस्था छ । उल्लिखित योग्यता पुगेका व्यक्तिले सात हजार पाँच सय दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
प्राधिकरण निवर्तमान अध्यक्षमा शरद ओझाले नियुक्ति हुँदा पेस गरेका कागजात छानबिन समितिले शङ्कास्पद रहेको भन्दै यही भदौ २ मा सरकारले उनलाई बर्खास्त गरेको थियो । यसरी खाली रहेको पदमा अध्यक्ष नियुक्तिका लागि सरकारले प्रक्रिया थालेको हो । बिमा ऐनको व्यवस्थाअनुसार प्राधिकरणको अध्यक्षको जिम्मेवारी सेवन्तक पोखरेललाई दिइएको छ ।
आवेदन दिने व्यक्ति को को ?
– घनश्याम बुढाथोकी
– विक्रान्त पाण्डे
– पारस काफ्ले
– विष्णुबाबु मिश्र
– बुद्धकाजी श्रेष्ठ
– दामोदर बसौला
– चिन्तामणी शिवाकोटी
– ज्ञानेन्द्र अधिकारी
– देवकुमार ढकाल
– दीपकबहादुर भण्डारी
– राजेन्द्र पण्डित
– यज्ञप्रसाद न्यौपाने
– रमेशकुमार भट्टराई र
– महेश्वर न्यौपाने
