नेपालको विद्युतीय तार उद्योगलाई पहिलो पटक बीआईएस प्रमाणपत्र

नेपालमै उत्पादन हुने विद्युतीय तार निर्यात गर्ने पहिलो उद्योगका रूपमा प्रिमियर वायर्सले बीआईएस पाउँदा नेपाली विद्युतीय तार उद्योगका लागि नयाँ बजार विस्तारको ढोका खुलेको छ।

भाद्र २१, २०८२

पर्वत पोर्तेल

First time BIS certificate for electric wire industry of Nepal

What you should know

विराटनगर — सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित प्रिमियर वायर्स उद्योगले भारतीय ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस)बाट गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ। नेपालमै उत्पादन हुने विद्युतीय तार निर्यात गर्ने पहिलो उद्योगका रूपमा प्रिमियर वायर्सले बीआईएस पाउँदा नेपाली विद्युतीय तार उद्योगका लागि नयाँ बजार विस्तारको ढोका खुलेको छ।

जसले नेपाली उत्पादनलाई भारतसहित अन्य अन्तर्राष्ट्रिय बजारमा विश्वसनीय ब्रान्डको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। मोरङको बुढीगङ्गा गाउँपालिकामा शारडा समूहद्वारा सञ्चालित यो उद्योगले उत्पादन गर्दै आएको तारलाई बाहिरबाट छोपेर सुरक्षित राख्ने, बलियो र टिकाउ प्लास्टिकको आवरण (पिभिसी) ले ढाकिएको, सामान्य घरदेखि उद्योगसम्म प्रयोग हुने लचिलो र कडा दुवै प्रकारका तार, जसले ११ हजार भोल्टसम्मको विद्युत् सहन सक्छ।

बीआईएसले भदौ १३ गते (अगस्ट १९) मा गुणस्तर चिह्न प्रदान गरेको हो। उद्योगका सञ्चालक पवन शारडाका अनुसार भारतीय बजारमा कुनै पनि वस्तु निर्यात गर्न बीआईएस अन्तर्गतको आइएस (इन्डियन स्ट्यान्डर्ड्स)प्रमाणपत्र अनिवार्य छ।

'हामी यसअघि बङ्गलादेश र भुटानमा मुख्य रूपमा तार निर्यात गर्दै आएका थियौँ,' शारडाले भने, 'भारतमा पनि माग धेरै थियो, तर कानुनी प्रक्रिया अपूर्ण भएकाले सहज निर्यात सम्भव भएको थिएन। अब भने बाटो खुलेको छ।'

प्रिमियर वायर्सले हालसम्म भारत, बङ्गलादेश र भुटानमा विद्युतीय तार पठाउँदै आएको थियो। बीआईएस पाएकोसँगै भारतीय बजारमा पहुँच अझै सहज र प्रतिस्पर्धी हुने उद्योगको दाबी छ। उद्योगी शारडाका अनुसार नेपालमै पनि धेरैजसो विद्युतीय परियोजना, उद्योग तथा आवासीय क्षेत्रमा बीआईएस मान्यता प्राप्त केबुल प्रयोग गर्ने चलन बढेको छ।

यसअघि भारतीय बीआईएस प्रमाणित सामग्री आयात गर्ने बाध्यता थियो। 'अब नेपालमै बीआईएस प्रमाणित केबुल उत्पादन हुन्छ, जसले देशकै बजारमा आत्मनिर्भरता बढाउनेछ,' शारडाले भने।

बीआईएसको मान्यता पाएको केबुल घर, कार्यालय, कलकारखाना र ठुला पूर्वाधार परियोजनाहरूमा प्रयोग हुने बताइएको छ। यसमा भारतीय मापदण्ड आइएस ६९४:२०१० अन्तर्गतका प्रावधान पूरा गरिएको उल्लेख छ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully