स्याउ टिप्न व्यस्त छन् जुम्लाका किसान

अहिले सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, काठमाडौं लगायतका सहरमा जुम्ली स्याउको किनबेच भइरहेको छ ।

भाद्र २१, २०८२

डीबी बुढा

Farmers of Jumla are busy picking apples

What you should know

जुम्ला — यतिबेला जुम्लाका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । जिल्लाको तल्लो क्षेत्रका किसानले स्याउ टिपेर व्यापारीलाई बेचिसकेका छन् भने माथिल्लो क्षेत्रका किसान स्याउ टिप्न व्यस्त छन् ।

जिल्लाको एक नगरपालिका, सात गाउँपालिकाका ६० वटै वटामा स्याउ टिप्न थालिएको हो । यसपालि स्याउको उत्पादन कम भए पनि गुणस्तरीय फल लागेकाले व्यापारीहरु बगैंचामै पुगेर स्याउ खरिद गरिरहेका छन् । बगैंचामै प्रतिकेजी ७० रुपैयाँमा स्याउ बेचिरहेको किसानहरुको भनाइ छ ।

जिल्लाका केही बगैंचाका स्याउ भने बजार पुगिसकेका छन् । 'लेकाली क्षेत्रको स्याउ टिप्न बल्ल सुरु भएको छ,' किसान हर्कबहादुर बुढाले भने, ‘जिल्ला एकै भए पनि ठाउँ अनुसारको फरकफरक समयमा पाक्ने गरेको छ ।’ 

पहिले कृषि विकास कार्यालयले नै स्याउको मूल्य तोक्ने गरेकामा यसपालि किसान आफैले मूल्य तोकेर बेचिरहेका छन् । 'केही स्याउ किसान आफैले बेच्न लगेका छन्,' बुढाले भने भने, ‘धेरै किसानले गाउँमै आउने व्यापारीलाई बेचेका छन् ।'

Farmers of Jumla are busy picking apples

यो वर्ष असिनापानी र खडेरीले स्याउको उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा झन्डै ४० प्रतिशत कम स्याउ फलेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार अहिले स्याउको गुणस्तर र गुलियोपना भए नभएको नापजाँच गरेर मात्र बजार पठाइएको छ । 'स्याउको उत्पादन, निर्यात र आम्दानीका विषयमा तथ्यांक संकलनको काम सुरु भइसकेको छ,' कार्यालय प्रमुख रामभक्त अधिकारीले भने ।

उनका अनुसार तथ्यांक संकलनका लागि कर्णाली राजमार्गमा रहेको नाग्म प्रहरीचौकीलाई जिम्मेवारी दिइएको छ । हरेक स्याउ बोकेका मालवाहक गाडीको तथ्यांक राख्ने काम चौकीले गरिरहेको छ । 

अहिले स्याउ टिप्ने, स्याउ बोकेर सडकमा पुर्‍याउनेदेखि गाडीमा राखेर ढुवानी गर्नेसम्मको काम पनि चलिरहेको छ । समयमै जुम्ली स्याउको कार्टुन नहुँदा भारतीय र चिनियाँको स्याउको कार्टुनमा किसानले स्याउ पठाइरहेका छन् । केही किसानले त तराईदेखि आएका गोलभेडाका कार्टुनसमेत प्रयोग गर्ने गरेको पाइएको छ । जसका कारण जुम्ली स्याउको पहिचान मेटिने हो कि भन्नेमा किसान चिन्तित छन् । 

अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यन्वयन इकाइ स्याउ सुपरजोनले ११ हजार कार्टुन ल्याएर बाँडेको छ । कृषि विकास कार्यालय जुम्लाले 'जुम्ली एप्पल' लेखेको १२ हजार कार्टुन ल्याएको छ । समूह, सहकारीलाई ५० प्रतिशत अनुदानमा दिने भएकाले साना किसान समस्यामा परेको देखिएको छ ।

Farmers of Jumla are busy picking apples

अहिले सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, काठमाडौं लगायतका सहरमा जुम्ली स्याउको किनबेच भइरहेको छ । जुम्लामा ४ हजार ४ सय हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भइरहेकामा यसपालि २ हजार ९ सय हेक्टरमा रोपिएको स्याउले मात्र फल दिएको कृषि विकास कार्यालयले जनाएको छ । 'स्याउले किसानको जीवन शैली फेरिएको छ,' कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले भने, ‘सहज रुपमा ढुवानी गर्ने बाटो नहुँदा भने हरेक वर्ष सास्ती खेपिरहनुपर्ने बाध्यता कायमै छ ।’

जुम्लामा स्थानीय जातको रेड, रोयल, जोनाथन र गोल्डेन जातको स्याउ फलिरहेको छ । विदेशी जातको गाला, गोल्डेन फुजी र जोनाप्रिन्स जातको स्याउको खेती पनि यहाँ हुने गरेको छ । 

जुम्लाका झन्डै १८ हजार घरमा स्याउ बगैंचा रहेको स्याउ सुपरजोनको तथ्यांकमा उल्लेख छ । जुम्लाको स्याउ भदौ २ गतेदेखि टिप्न सुरु भएको थियो । स्थानीय तहले भदौ १५ भन्दा अगाडि नटिप्न आग्रह गरेपछि छिटो पाकेकाले भदौ सुरुदेखि नै स्थानीय तहले स्याउ निर्यातको सिफारिस दिन थालेका हुन् । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully