ल्हेन्दे खोलामा पिलर राखेर ५० मिटर भन्दा लामो बेलिब्रिज बनाउनुपर्ने भएकाले दसैँ अघि पुल नबन्ने भएको छ।
What you should know
काठमाडौँ — गत असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले नाका जोड्ने पुल बगाएसँगै अहिले रसुवागढी नाका ठप्प छ । कहिलेबाट नाका सञ्चालनमा आउँछ ? यसबारे सम्बन्धित अधिकारीहरू अझै अनविज्ञ छन् । नाका सञ्चालनमा आउन पहिला ल्हेन्दे खोलामा बेलिब्रिज बन्नु पर्छ । चीनले अहिले बेलिब्रिजको निर्माण सुरु गरे पनि काम सकिएको छैन।
त्यस्तै, असार २४ र साउन १४ मा भोटेकोसीमा आएको बाढीले स्याफ्रुवेसी–रसुवागढी सडक अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
स्याफ्रुवेसीदेखि टिमुरेसम्मको सडक साताअघिबाट सञ्चालनमा आएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख खड्गलाल श्रेष्ठले बताए । ‘पहिला जति सडक बनाए पनि खोलाले खोतलेर समस्या थियो,’ उनले भने, ‘अहिले यो समस्या छैन, टिमुरेदेखि रसुवागढी नाका जोड्ने खण्ड पनि छिटै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।’ उक्त खण्डमा दुई ठाउँमा गरेर करिब ५० मिटर सडक बनाउन बाँकी रहेको उनले सुनाए । कडा चट्टान भएकाले त्यसलाई फोरेर काम गर्ने प्रयास भइरहेको आयोजनाले जनायो ।
जहाँ अहिले काम भइरहेको छ । ‘स्याउ पार्किङ र निकुञ्ज चेकपोष्टमा बाढीले सडक बगाएका कारण समस्या भएको हो, त्यो ठाउँमा अबको एक साताभित्र त्यही ठाउँमा नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउने छौँ ।’ यस खण्डमा पहिरोकाकारण नयाँ ट्र्याक खोलेर सडक सञ्चालन गर्न लागिएको उनले बताए ।
अहिले सडक खोलिसकेकाले स्याफ्रुवेसीदेखि टिमुरेसम्म सवारीसाधन सञ्चालनमा आएका छन् । ‘ सञ्चालनमा आएको सडकमा बेला–बेलामा पहिरो खस्नेकाकारण पन्छाउँदै यातायात सञ्चालन गर्ने गरिएको छ,’ उनले भने, ‘ठुलो समस्या भने छैन ।’ केही समस्या आए सडक सञ्चालन गर्न मेशिनहरू तयारी अवस्थामा राखिएको उनले सुनाए । नदीबाट हुने कटान कम भएकाले पहिला जस्तो समस्या नरहेको उनको भनाइ छ ।
स्याफ्रुवेसीदेखि रसुवागढी जोड्ने सडक दसैँ अघि नै सञ्चालनमा आए पनि नाका जोड्ने पुल नबन्ने जानकारी आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । ‘पहिला ल्हेन्दे खोलामा ५० मिटर पुल बनाउने कुरा थियो, बिचमा पिलर राख्ने कुरा थिएन,’ उनले भने, ‘अहिले ५० मिटर भन्दा लामो ‘बेलिब्रिज’ बनाउनु पर्ने भएकाले बिचमा पिलर राख्नुपर्ने भयो, त्यसैले दसैँअघि पुल बनाउन समस्या हुने चिनियाँ पक्षबाट जानकारी पाएका छौँ ।’ उनकाअनुसार पुल बनाउन सुरु गरिएको भए पनि अझै कति समय लाग्ने हो थाहा भइसकेको छैन ।
‘कति मिटर बनाउनुपर्ने हो, यकिन भइसकेको छैन,हाम्रो अनुमान ८० देखि सय मिटर लामोसम्म हुन सक्छ,’ उनले भने, ‘दसैँमा बेलिब्रिज बनिन सक्ने भएकाकाकारण चीनबाट तयारी बस्तु ल्याउन गारो हुने भएको छ ।’ चीनबाट धेरै लोड भएका कन्टेनर आउने हुँदा त्यही अनुसारको पुल निर्माण गर्नुपर्ने भएकाले खोलाको बिचमा पिलर आवश्यक भएको उनले बताए । ‘दसैँ अघि पुल नबन्दा नाकाबाट सामान आउने छैन,’ उनले भने, ‘हाम्रो अनुमान तिहारसम्म बनिसक्छ भन्ने छ ।’ यो नाका भएर दैनिक सय भन्दा बढी कन्टेनर ओहोरदोहोर गर्छन् । अहिले रसुवागढी नाका ठप्प छ । चाडबाडका बेला कन्टेनर र व्यवसायीको भिडभाड हुने नाका अहिले सुनसान छ ।
ल्हेन्दे खोलामा पुल बन्न समय लाग्ने भएकाले तिहारसम्म नै नाका ठप्प हुने देखिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले बताए । ‘दसैँका बेला लत्ताकपडा रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्रने गर्छ ,’ उनले भने, ‘फेरि स्याउ पनि चाडबाडमा नै खपत हुन्छ, त्यो पनि यही नाका भएर भित्रने हो, तर अहिले यो नाका ठप्प छ ।’ चाडबाडमा यही नाका भएर नयाँ सवारीसाधन भित्राउने गरिएको भए पनि अहिले बन्द छ । सबैभन्दा धेरै विद्युतीय सवारीसाधन यही नाकाबाट भित्रने गरे पनि अहिले यो नाकाबाट आयात बन्द छ ।
‘कति अटो व्यवसायीले चाडबाडमा अफर राखेर गाडी मगाएका थिए,तर यो नाकाबाट लग्न असम्भव भयो,’ उनले भने, ‘नाका ठप्प हुँदा धेरै कुराको आयात रोकिएको छ ।’ यो भन्सार कार्यालयले चालु आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य ४० अर्ब १६ करोड रुपैयाँ राखेको छ । ‘साउन र भदौमा राजश्व संकलनको लक्ष्य ७ अर्ब रुपैयाँ हो,’ उनले भने, ‘यो दुई महिनामा केही पनि उठेको छैन, असोजमा पनि लक्ष्य अनुसार राजश्व उठ्ने सम्भावना छैन, किनकि दसैँ अघि नाका नै खुल्दैन ।’
असोजमा मात्र राजश्व संकलनको लक्ष्य साढे ३ अर्ब रुपैयाँ रहेको छ । चालु आवको तिहारपछि नियमित रूपमा नाका खुलेर सामान आए पनि बर्सभरि राखिएको कुल लक्ष्यमा १२ अर्ब कम राजश्व संकलन हुने उनले बताए । ‘दसैँ अघि नाका खुलेको भए यति ठुलो राजश्व गुम्ने थिएन,’ उनले भने, ‘फेरि चाडबाडका बेला अघिपछि भन्दा बढी राजश्व संकलन हुन्थ्यो, त्यो पनि यो पटक नहुने भयो ।’
